काठमाडौँ, २ असोज । गृहमन्त्री रमेश लेखकले नेपालको वर्तमान संविधान अहिलेसम्मकै असल संविधान भएको बताउनुभएको छ ।
बुधबार संविधान कार्यान्वयनको वर्तमान अवस्था अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यो संविधानले राजनीतिक व्यवस्थामा ठुलो परिवर्तन ल्याएको भन्दै अहिलेसम्मको असल संविधान सावित भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘यो संविधान अहिलेको अवस्थामा असलमध्येको असल संविधान हो, हामीले एउटा असल संविधान बनायौँ, यो संविधानमा केही कमीकमजोरी छैन भनेर भन्न सकिँदैन तर सबै कुरा ठिक छ भनेर पनि भन्न सकिन्नँ, किन भने सम्पूर्ण केही पनि हुँदैन, सर्वगुण सम्पन्न केही पनि हुँदैन, जीव होस् या अमृत चिज होस् सम्पूर्ण गुण सम्पन्न हुँदैन तर यो संविधान असलमध्येको संविधान हो । हाम्रो नेपालको लामो संवैधानिक र राजनीतिक यात्राको अनुभवबाट यो संविधानको उत्पत्ति भएको हो ।’
यस्तै, उहाँले नेपालको संविधान कान्छो संविधान भएको भन्दै यसले तत्कालीन सबै राजनीतिक व्यवस्थामा ठुलो परिवर्तन गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘२००४ सालदेखि प्रारम्भ भएर ६८ वर्षपछि हामी २०७२ सालमा पुग्यौँ, यो बीचमा हामीले ६ वटा संविधानहरु बनायौँ, एउटा अन्तरिम संविधानबाहेक अरु सबै ५ वटा संविधान कुनै न कुनै रुपमा कि त असफल भए कि त असफल पारिएँ, त्यो अनुभवको जगमा हामीले यो संविधानको निर्माण गर्यौँ, हाम्रो संविधान कान्छो संविधान हो, संसारमा जति पनि बनेका संविधानहरु छन् त्योमध्ये नेपालको संविधानले तत्कालीन सबै राजनीतिक व्यवस्थामा ठुलो परिवर्तन गर्यो ।’
साथै, उहाँले नेपालको संविधानले समावेशी चरित्रको राज्य निर्माण गर्ने आयाम सिर्जना गरेको बताउनुभयो । उहाँले यो संविधानले संघिय लोकतान्त्रीक गणतन्त्रात्मक शासन व्यवस्थाको एउटा नयाँ आयाम सिर्जना गरेको बताउनुभयो ।