काठमाडौँ, २ असोज । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले इतिहासले गरेका गल्तीहरु अझै पनि समाधान गर्न नसकिएको बताउनुभएको छ ।
मंगलबार पार्टी कार्यलयमा आयोजित नेपाली कांग्रेसद्वारा आयोजित ‘संविधानको एक दशक–कार्यान्वयन र चुनौती’ विचार गोष्ठीलाई सम्बोधन गर्दै उहाँले विभिन्न जातजातिले बनेको देश नेपालमा अझैपनि विभाजन रहेको भन्दै उहाँले कतिपय कुराहरु कानुनी रुपमा समाधान भएता पनि अझै व्यहारमा भने लागु हुन नसकेको बताउनुभयो ।
उहाँले भन्नुभयो,‘एउटा कुरा स्पष्ट छ । नेपाल विभिन्न जातजातिले बनेको देश हो यो । तर, अझै पनि विभाजन छ । इतिहासले गरेका गल्तीहरु अझै पनि समाधान गर्न सकिएको छैन । त्यसैले छुवाछुतलगायतका जस्ता कतिपय कुराहरु अझै पनि कानुनी रुपमा समाधान भएता पनि व्यहारमा भने लागु भएको छैन ।’
उहाँले प्रजातन्त्रको लागि विद्यार्थी कालदेखि नै जेलनेल भोगेको पार्टी भएका कारण कुनै पनि हालतमा प्रजातन्त्रको खिलाफको काम नगर्ने प्रतिवद्धता जनाउनुभयो । प्रजातन्त्र अझ कसरी मझबुद बनाएर अगाडि बढाउने र जनताकाप्रति अझ बढी जवाफदेही बनाउने कुरा आजको आवश्यकता रहेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो,‘हामी प्रजातन्त्रको लागि पहिलेदेखि नै लडेर आएको हो । विद्यार्थी कालदेखि नै जेलनेल सबैकुराहरु भोगेको पार्टी हो । प्रजातन्त्रको खिलाफको कुनै पनि काम हुनसक्ने कुनै कुरा छैन । यसलाई अझ कसरी मझबुद बनाउन अगाडि बढाउने र जनताकाप्रति अझ बढी जवाफदेही बनाउने कुरा आवश्यक छ ।’
सभापति देउवाले प्रदेश संरचना हटाउने विषयमा धेरै कुरा उठ्ने गरेको भन्दै बनिसकेको प्रदेश संरचना कुनैपनि हालतमा नहट्ने स्पष्ट पार्नुभयो । उहाँले सधैँ प्रदेशबाट समानुपातिकबाट ल्याउने समस्या रहेको भन्दै जबसम्म नेपालमा आफैँ चुनाव जितेर आउने वातावरण बन्दैन तबसम्म समावेशी राजनीति आवश्यक रहेको धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो,‘प्रदेश संरचना बनिसकेको छ । त्यसैले प्रदेश हट्ने कुरा चाहिँ छैन । यसलाइ हटाउन सकिने स्थिति पनि छैन । प्रदेश संरचनालाई कसरी अझ उत्तरदायी बनाउने भन्ने विषयमा विचार गर्ने भन्ने हो । सधैँ कति समानुपातिकबाट ल्याउने ? त्यो समस्या चाहिँ छ । समानुपातिकबाट ल्याउनुपर्ने बाध्यता छ । जबसम्म नेपालमा आफैँ चुनाव जितेर आउने बाताबरण बन्दैन तबसम्म समावेशी राजनीति आवश्यक छ ।’