काठमाडौँ, ३१ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी ठगीमा आफ्नो संलग्नता नभएको कुरा स्पष्ट भएको बताउनुभएको छ ।
सोमबार प्रतिनिधि सभाको बैठक पश्चात उहाँले रास्वपाले गैरकानुनी, अराजनीतिक जस्ता कुनै पनि गलत काम नगरेको भन्दै सहकारीको विषयमा पनि आफू गलत नभएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले समाधानमा जानुपर्छ भनेर पहिलादेखि नै भनेका थियौँ । व्यक्ति केन्द्रित गरेर राजनीतिक खेल खेल्ने काम नगरौँ भनेर भनेको थिएँ । मूल कुरा भनेको सहकारी ठगीमा मेरो संलग्नता नभएको कुरा स्पष्ट भएको छ । हामीले गैरकानुनी, अराजनीतिक जस्ता कुनै पनि गलत काम हामीले गरेका छैनौँ ।’
यसका साथै, उहाँले विषयमा पीडित बचतकर्ताहरुलाई प्राथमिकता दिनुपर्ने ठाउँमा व्यक्तिलाई लक्षित गरेर अगाडि बढेको पनि बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘कम्पनीमा आएको पैसा सबैलाई तलब दिने कुरा हो । मेरो भूमिका कतै पनि छैन भन्ने कुरा स्पष्ट भइहाल्यो । लगानीकर्ताले ल्याएको रकमको स्रोत हेर्ने अधिकार मलाई हुँदैन । त्यसकारण आएका कुरालाई एमडीका रुपमा आन्तरिक व्यवस्थापनको काम गर्नुपर्छ । तर, मूल मुद्दा के थियो भने सहकारी ठगीमा मेरो संलग्नता, मलाई ठग भनेर प्रमाण गरियो । रवि लामिछानेसँग जोडेर लाखौँ सहकारी पीडितमाथि पाप भएको छ । पापको भारी कसले बोक्नुपर्ने हो थाहा छैन । तर, आज विषय म हुनुपर्ने थिएन ।’