एसिड आक्रमण पीडितहरुको न्यायका लागि प्रतिवद्ध छौँ : रवि लामिछाने

28

काठमाडौँ, २५ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले एसिडको प्रहार भएर उपचार पाउने जटिलता अझै पनि कायम रहेको बताउनुभएको छ ।

मंगलबार चौथो एसिड आक्रमण विरुद्धको अभियान दिवसका रुपमा केही पीडित र सरोकारवाला निकायसँग छलफल गर्दै सभापति लामिछानेले कानुनी उपचारको सुनिश्चितता गर्नकै लागि रास्वपाले एसिड पीडित बिन्दबासिनी कंसाकारलाई सांसद बनाएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘संसारका संसदहरुमा के छ थाहा छैन, तर संसारकै पहिलो दुर्लभ प्रतिनिधिसभाको सांसदको रुपमा रास्वपाको प्रतिनिधित्व गर्दै बिन्दबासिनी कंसाकार आउनुभएको छ । यो सामान्य कुरा मात्र होइन, एसिडको जलन वा पीडा अन्त्य गर्नका निम्ति कानुनी रुपमा उपचारको जटिलता अझै कायम नै छन् । तर, कानुनी उपचारको सुनिश्चितता गर्न एक एसिड आक्रमणबाट पीडित स्वयम् कानुन बनाउने ठाउँमा पुगिसक्दा पनि जलन विधेयकलाई अगाडि बढाएर न्याय दिने काम गर्न सकेका छैनौँ । यो धिक्कार हुन्छ हामी सबैका लागि ।’

साथै उहाँले देशले नै गर्व गर्ने ठाउँमा पुग्नका लगि धेरै काम गर्नुपर्ने बताउनुभयो । उहाँले एसिड पीडितहरुलाई न्याय दिनका लागि नै जलन विधेयक दर्ता गरेको समेत बताउनुभयो ।

उहाँले एसिड पीडितको न्यायको लागि आफू प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘केही समय धैर्यतापूर्वक साथमा रहनुहोला । एसिड पीडितले अनुभव गरेका तिता इतिहासहरुलाई भोलिका दिनमा कसैले गर्न नपाउन भन्नकै लागि जलनबाट पीडा भोक्नुपरेका सबैको हक र अधिकार दिलाउनका लागि हामी लडिरहेका छौँ । र एसिड पीडितको न्यायको लागि प्रतिवद्ध छौँ ।’

Share This:
सम्बन्धित खबर
Loading...