नवीन जोशी विगत डेढ दशकदेखि भारतको दिल्लीमा बस्दै आउनुभएको छ । उहाँ मानव बेचविखनविरुद्धका एक चर्चित नेपाली अभियन्ता हुनुहुन्छ । नेपालका गाउँहरुबाट भारतका विभिन्न सहर र तेस्रो मुलुक जाने क्रममा दलालबाट ठगिएका, बेचिएका वा अलपत्र पारिएकाहरुलाई जोशीको नेतृत्वको एक संस्थाले उद्धार गर्दै आइरहेको छ । जोशी सामाजिक संस्था ‘किन इन्डिया’को निर्देशक समेत हुनुहुन्छ । सोही संस्थामार्फत् सयौँको उद्धार भइसकेको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मानव बेचिबिखन तथा ओसारपसारविरुद्ध उल्लेखनीय कार्य गरेबापत १८औँ मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवसका अवसरमा काठमाडौँमा आयोजना गरिएको कार्यक्रममा सम्मान ग्रहण गर्न नेपाल आउनुभएको बेला जोशीसँग नेपाल न्यूज बैंकले संक्षिप्त कुराकानी गरेको छ ।
यतिबेला भारतमा मानव बेचबिखनको अवस्था कस्तो छ, घट्दो कि बढ्दो छ ?
दिल्लीमा बसेर हामी मानव बेचबिखनविरुद्ध काम गरिरहेका छौँ । दिल्लीलगायत भारतका अधिकांश सहरहरुमा बेचबिखनको अवस्था एकदमै गम्भीर छ । वर्षौंदेखि गम्भीर बन्दै आएको छ । मानव बेचबिखन भनेको हामीले सुन्दै आएको चेलीबेटी बेचविखन मात्र हो । तर, अहिले सबै मानिसहरु बेचबिखनमा परिरहेका छन् । कुनै लैङ्गिकताका आधारमा बेचविखनमा फरक छैन । बालक, युवा, महिला, किशोरी जोसुकै बेचबिखनको शिकारमा छन् । भारत वा भारत हुँदै तेस्रो मुलुक निर्यात भइरहेका छन् ।
विशेषगरी नेपालका कुन भेगबाट बेचबिखनमा परेका व्यक्तिहरु दिल्लीमा भेटिन्छन् ? बेचबिखनको तौर तरिका कस्तो छ ?
नेपालका नुवाकोट र सिन्धुपाल्चोकलगायतका जिल्लाबाट धेरै मानिसहरु बेचविखनमा परेको भेटिन्थ्यो । दिल्लीको जिबी रोड, कलकत्ताको सुनागाछी अथवा मुम्बइको कोटीहरुमा नेपाली युवतीहरु बेचिने गरेको सुनिन्थ्यो र भेटिन्थ्यो । तर, अहिले डिजिटल युगमा धेरै परिवर्तनहरु भइरहेको छन् । यो क्षेत्रमा पनि सोही अनुसार परिवर्तन भइरहेका छन् । कानुन संयन्त्रभन्दा दुई कदम माथि बेचबिखन भइरहेको छ । बेचबिखन नभएको कुनैपनि त्यस्तो निश्चित ठाउँ छैन । अहिले त वाट्सएपमार्फत् कुनै फ्ल्याटमा बोलाएर धन्दा चलाएको पाइन्छ । फ्ल्याटमै बसेर विभिन्न ठाउँमा पठाउने काम भइरहेको छ । बेचबिखनको खेल भनेको डिमान्ड र सप्लाइको हो । सोहीअनुसार सप्लाइ भइरहेको छ । दिल्ली, मुम्बइ र कोलकाताका कोठाहरुमा मात्र सीमित छ भन्न सकिँदैन ।
विशेषगरी नेपालको कुन कुन नाका बेचबेखिनका लागि बढी जोखिमयुक्त लाग्छन् ?
पूर्व झापादेखि पश्चिम महेन्द्रनगरसम्मका लगभग प्रायः सबै नाकाहरु जोखिमपूर्ण नै छन् । त्यहाँका साना नाकाहरु पनि उत्तिकै चलायमान रहन्छन् । हुनत त्यहाँ हाम्रा सुरक्षाकर्मीहरु, विभिन्न संघ संस्थाका साथीहरुले निगरानी गरिरहनुभएको छ । तर, यति हुँदाहुँदै पनि महिला, बालबालिकाहरु भारत पुगिरहेका छन् । नाकाबाट गइरहेकै छन् । कुनै नाका जोखिममुक्त छैनन् । यसका साथै साना साना नाकाहरुको प्रयोग गर्ने, जंगलको बाटो प्रयोग गर्ने, निजी गाडीहरुमा पारी कटाउनेक्रम जारी नै छ । कञ्चापुरतिर बाइकहरु प्रयोग गरेर पनि नाका पार गराउने गरेको पाइन्छ । पछिल्लो पटक हामीले कोभिडपछि १९ जना बालकहरुलाई लैजाने क्रममा रेड गरेर उद्धार गरेका थियौँ । उनीहरुलाई खेतबाट बोर्डर कटाइएको रहेछ । तार समेत हटाएर बोर्डर कटाएको रहेछ । बोर्डर कटाउने तरिका सधैँ फरक फरक हुन्छ ।
मानव बेचविखनमा प्रहरी प्रशासन, राजनीतिक दल र अन्य निकायहरुको पनि कहीँ कतै मिलेमतो भएजस्तो आशंका लाग्दैन ?
राजनीति त सबै ठाँउमा जोडिएको हुन्छ । तर, कुन रुपमा जोडिएको हो भन्ने कुरा बुझ्नपर्छ । दलहरु त मिडिया, व्यापारलगायत राम्रो नराम्रो सबै ठाँउमा जोडिएकै हुन्छन् । हामीलाई कुनैबेला माथि उल्लेख गरिएका सबै ठाउँबाट धम्की आउने गर्दथ्यो तर वास्ता नगरी अगाडि बढिरहेका हुन्थ्यौँ । तर, ब्युरोक्रेसी अथवा प्रहरीहरु यस्तो जघन्य अपराधमा मिलेको छ कि भन्ने चाहिँ लाग्दैन ।
सामान्यतया मानव बेचबिखन देहव्यापारमा मात्र केन्द्रित हुन्छ भन्ने मान्यता छ, तपाईंहरुको अध्ययनले के देखाउँछ ?
पहिला यौन व्यवसाय गर्नका लागि मात्र लगिने गरेको जस्तो देखिन्थ्यो । तर, समय धेरै परिवर्तन भइसक्यो । अहिले को मान्छे कहाँ फिट हुन्छ, त्यसलाई लगेर भीख मगाउने हो कि लागु औषध ओसार पोसारमा लगाउने हो कि अथवा बाल मजदुर गराउने हो कि भन्ने कुरा व्यक्तिलाई हेरेर निर्भर हुन्छ । दलालहरुको उद्देश्य भनेको पैसा कमाउने मात्र हो ।
तर पछिल्लो समय नेपालीहरुलाई भारतमा लगेर आफ्नो किट्नी निकाल्न लगाएर किड्नीको व्यापार पनि गराएको भन्ने समाचार आइरहेका छन् । यो सत्य हो ?
एक समय नेपालको होक्से गाउँबाट नेपालीहरुलाई कलकत्तामा लगेर किड्नी ट्रान्सप्लान्ट गर्ने कामहरु गर्न लगाएको हामीले थाहा पाएका हौँ । त्यसबाहेक अन्य अंगको पनि व्यापार हुँदैछ रे भन्ने सुन्नमा आएको छ । यसमा भारत सरकार पनि संवेदनशील छ तर यस्तो समस्या विश्वव्यापी रोगकै रुपमा छ । कम गर्न सकेको भएपनि रोक्न सकेको अवस्था छैन ।
मानव बेचविखन रोक्न भारत र नेपालका प्रहरी प्रशासनको इमान्दार सहयोग पाइरहनुभएको छ ?
कानुनी रुपमा भारतको सरकार र प्रशासनले सहयोग गरिरहनुभएको छ । भारतमा १८ वर्षभन्दा मुनिका बालबालिकाहरुका लागि अलगै कानुन र अदालत छ । त्यसो भएको हुनाले पनि सहयोग गर्दैनौँ भनेर भन्नै मिल्दैन । तथापि, १८ वर्षभन्दा माथिका व्यक्तिहरुको उद्धारमा भने केही समस्याहरु हुने गरेका छन् । उद्धार हुनु छैन भन्ने किसिमका कुराहरुले गर्दा व्यवहारिक समस्याहरु छन् । त्यस्तो केशमा पीडित हो कि होइन भनेर प्रमाणित गर्न चाहिँ प्रहरी प्रशासनले सहयोग गर्छ । नेपालमा पनि पहिलाभन्दा अहिले युवाहरु प्रहरी प्रशासन वा ब्युरोक्रेसीमा हुनुभएकाले केही सहज भएको छ । तर, यति हुँदाहुँदै पनि हामीमा कानुनी अभावहरुले गर्दा समस्या पर्ने गरेको छ । किनभने कानुनी रुपमा नेपाल र भारत दुवै देशको मानव बेचबिखनका लागि कसरी काम गर्ने भनेर कुनै सम्झौता छैन । कानुन नहुँदा उद्धार गरिसकेपछि पनि स्वदेश फिर्ता गर्नको लागि त्यतिकै चुनौती भइरहेको छ । स्वदेश फर्काउने सवालमा प्रशस्त कानुनी र कागजी समस्याहरु झेलिरहनुपरेको छ ।
तपाई आफू चाहिँ यो क्षेत्रमा लागेको कति भयो, अहिलेसम्म कतिको उद्धार गर्नुभयो ?
मैले काम गरेको करिब १५ वर्ष भयो । हामी अर्थात् मेरो नेतृत्वको टिमले आठ सय जनाको उद्धार तथा स्वदेश फिर्ता गरिसकेका छौँ । त्यसमा ९९ प्रतिशत नेपाली अरु भारतीय थिए । हाम्रा सहयोगी संस्थाहरु छन् । एनसिआरसी जस्ता संस्थाहरु छन् । शक्ति समूह जस्ता धेरै संस्थाहरु छन् । उहाँहरु मार्फत् उद्धार भएकाहरुलाई सुधार गृह वा पुनःस्थापना केन्द्र लैजाने, तालिम दिने काम गरिरहेका छौँ ।
उनीहरुलाई सीप सिकाउने र जागिर दिने काम पनि भइरहेका छन् । उनीहरु फेरि पीडित नबनोस भन्नका लागि संघ संस्थाहरुसँग सहकार्यका काम गरिरहेका हुन्छौँ । आवश्यक परे अनुसार पढ्न मन भएकाहरुलाई पढाउने काम पनि हुने गरेको छ । त्यसमा नेपाल सरकारको पनि भूमिका रहन्छ । सरकारका आफ्नै कार्यक्रमहरु पनि छन् ।
तपाईहरुको अध्ययनले भारत वा तेस्रो मुलुक मानव बेचविखनको प्रक्रिया चाहीं कस्तो हुँदोरहेछ, दलालहरुले कति कमाउँछन् ?
मानव बेचविखनका अनेक रुप छन् । इराक, कुबेतलगायत खाडी मुलुक पठाउनेको छुट्टै सञ्जाल र प्रक्रियाहरु छन् । त्यहाँ लगेर यौन व्यवसायहरुमा लगाउने गर्छन् । त्यहाँ बसेको मानिसले कराडौँ कमाइ गर्छन् । मानव बेचबिखन अनुसन्धान ब्युरोमा बयान लिने क्रममा कति ठाउँमा जाने कति पैसा लिने भन्ने कुरा सोधेर हिसाब लगाउँदा एकजना बहिनी(युवती)बाट एक महिनामा दुई करोड रुपैयाँ कमाउने अनुमान गरिएको छ । त्यस्ता बहिनीहरु एक पटकमा १०–१२ जनासम्म हुन्छन् । भनेको दलालको आम्दानी आफैँ हिसाब गर्नुहोस् ।
तपाईको कुराकानीको सार मानव बेचबिखन बढिरहेको भन्ने रहयो । तर नेपालमा पहिलेजस्तो गरिबी र अशिक्षा छैन । त्यस कारणले बेचबिखन घटेको छ पनि भनिन्छ नि !
पहिलाको रिर्पोटहरु पढ्दा वा त्यो बेलाको गरिबी, अशिक्षाको कारणले बढी बेचबिखनमा पर्ने गरेका थिए । तर, अहिले धेरै आकाङ्क्षाहरु बोकेको कारणले प्रलोभनमा बढी परेको जस्तो देखिन्छ । २०१६, १७ र १८ मा वैदेशिक रोजगारको विरुद्धमा क्याम्पेन नै चलाएका थियौँ । जसमा सुरुमा १६ जना उद्धार गरेका थियौँ । त्यसपछि पहाडजंगबाट ३९ जना साथै क्रमशः दर्जनौँ व्यक्तिहरुको उद्धार गरेका थियौँ । हुनतः अहिले भारतलाई प्रयोग गरेर तेस्रो मुलुकमा महिलाहरुलाई कम नै पठाउने गरेको पाइन्छ ।
मानव बेचबिखन रोक्ने मुख्य जिम्मेवारी भनेको सरकारको हो । हामीले सरकारलाई सहयोग गरेका छौँ । सरकारले पनि यो विषयलाई गम्भीरतापूर्वक लिएर दुवै देशबीच सम्झौता गर्नुपर्छ । यसले उद्धार गरेका र मुद्दा परेका प्रतिवादीहरुलाई ल्याउन सहजीकरण हुन्छ ।
हुनतः यो काम एकदमै जोखिमपूर्ण पनि छ । काममा खतरा एकदमै छ । चुनौतीहरु पनि धेरै नै छन । मानव बेचबिखन विरुद्धको अभियान भनेको जबसम्म मानिस आफैँ अथवा आफ्नै घरको मानिस बेचिँदैन तबसम्म मान्छेलाई चासो लाग्दैन । बेचबिखनविरुद्ध उत्रिने भनेको आफूलाई परिसकेपछि मात्र हो । तर, यो गलत हो । यसमा चासो राख्नुपर्छ । घर घरबाट हरेक व्यक्तिले यसबारे सोच्ने हो भने घटना धेरै कम हुनसक्ने सम्भावना छ ।