दोधारा चाँदनीलाई देशको सबैभन्दा ठुलो नाका बनाउछौँ : गृहमन्त्री लेखक
महेन्द्रनगर, २० भदौ । गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको दोधारा चाँदनीलाई देशको सबैभन्दा ठुलो नाकाका रुपमा विकास गर्ने बताउनुभएको छ ।
बुधबार दोधारा चाँदनी नगरपालिकास्थित इलाका प्रहरी कार्यालय दोधारा चाँदनीको नवनिर्मित भवनको उद्घाटन गर्दै मन्त्री लेखकले दोधारा चाँदनीलाई त्रिदेशीय नाकाका रुपमा विकास गरी देशको सबैभन्दा ठुलो नाकाका रुपमा विकास गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘महाकाली नदीमा चार लेनको पक्की पुल बनिसकेको छ अब दोधारा चाँदनीमा सुुख्खा बन्दरगाह निमार्ण हुन्छ । यो नाकालाई भारत र चीनसँग जोडेर देशकै ठुलो नाकाका रुपमा विकास गर्छौँ ।’
उहाँले निकट भविष्यमा नै दार्चुलाको तिंङ्करमा अध्यागमन कार्यालय स्थापना गर्ने तयारीमा रहेको बताउँदै तिंङकरबाट नै मानसरोवर यात्राका लागि सुनिश्चितता हुने बताउनुभयो ।
‘उद्योग, व्यापार वाणिज्य, पर्यटन सबैका लागि महत्वपूर्ण नाकाका रुपमा दोधारा चाँदनीलाई विकास गर्छौँ । त्यसै गफ गरेको होइन, उहिले उहिले महाकालीमा झोलुङ्गे पुल बनाउँछौँ भन्दा हास्ने गरेको मैले सुन्या छु अहिले महाकालीमा चार लेनको पक्की पुल बनेको छ गरेपछि त बन्दो रहेछ त ।’
त्यसैगरी उहाँले संसद्मा भएका दुई ठुला दलहरुबीच सहमति भएर नयाँ राजनीतिक समीकरण बनेकाले मुलुकमा सुशासन कायम हुने विश्वास उहाँको थियो ।
ती दिने भ्रमणमा गृहजिल्ला पुगेका मन्त्री लेखकले कञ्चनपुरका बाढी प्रभावित क्षनेत्रको स्थलगत अवलोकन समेत गर्नुभएको छ ।