किसान सूचीकरणको काम यसै वर्षभित्र सम्पन्न हुन्छ : मन्त्री अधिकारी

149

काठमाडौँ, १८ भदौ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले सातवटै प्रदेशका कृषि मन्त्रीहरुसँग छलफल गर्नुभएको छ ।

मंगलबार सिंहदरबारस्थित कृषि मन्त्रालयमा भएको बैठक बोल्दै मन्त्री रामनाथ अधिकारीले यसै वर्षभित्र किसान सूचीकरणको काम सक्ने उद्देश्य बोकेको बताउनुभयो । उहाँले सूचीकरण वर्गीकरण गर्दै वितरणको प्रक्रिया पनि सुरु गर्ने उद्देश्य राखेकोे भन्दै त्यसमा सबै प्रदेशको र पालिकाहरुको तर्फबाट उत्तिकै सहयोग जरुरी रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘किसान सूचीकरणका सन्दर्भमा हामीले यसै वर्षभित्र सक्ने उद्देश्य बोकेका छौँ । त्यति मात्र होइन यसै वर्ष हामीले सूचीकरण वर्गीकरण गर्दै हामीले कम्तिमा वितरणको प्रक्रिया पनि सुरु गरौँ भन्ने उद्देश्य राखेका छौँ । यसमा सबै प्रदेशको तर्फबाट र सबै पालिकाहरुको तर्फबाट उत्तिकै सहयोग जरुरी मैले महसुस गरेको छु ।’

उहाँले बाली बिमाका सन्दर्भमा प्रवर्द्धनात्मक तथा सचेतनामूलक कार्य अगाडि बढाउने र त्यसलाई व्यस्थित गर्दै लैजाने उद्देश्य पनि मन्त्रालयले राखेको जानकारी गराउनुभयो । अनुदानको विषयमा कृषि मन्त्रालयलाई धेरै आरोपहरु लाग्ने गरेको भन्दै पालिका र प्रदेश तहसँगको समन्वयमा संयन्त्र बनाएर अनुदानको व्यवस्था गर्ने सोच अगाडि सारेको पनि उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो,‘बाली बीमाका सन्दर्भमा हामीले प्रवर्द्धनात्मक तथा सचेतनामूलक कार्य अगाडि बढाउने र त्यसलाई व्यस्थित गर्दै लैजाने उद्देश्य पनि मन्त्रालयले राखेको छ । अनुदानको विषयमा कृषि मन्त्रालयलाई लाग्दै आएका आरोपहरु छन् । यसमा पालिका तह र प्रदेश तहसँग समन्वय गरेर एउटा संयन्त्र बनाएर त्यो अनुदानको व्यवस्था गर्न ठिक होला कि भन्ने सोच पनि हामीले अगाडि बढाएका छौँ ।’

Share This:
सम्बन्धित खबर
Loading...