नेपालको नयाँ शक्ति भनेकै माओवादी केन्द्र हो : प्रचण्ड

36

नेपालगञ्ज, १६ भदौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा नयाँ शक्ति भनेकै माओवादी केन्द्र भएको बताउनुभएको छ ।

प्रेस सेन्टर नेपाल बाँकेले आइतबार बिहान नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले नयाँ शक्ति हुनलाई कुनै राजनीतिक परिवर्तनको कोर्ष पूरा गरेर आएको हुनुपर्ने उल्लेख गर्दै आजका दिनमा माओवादी नै नयाँ शक्ति भएको बताउनुभयो ।

‘नेपालमा नयाँ शक्ति भनेकै माओवादी केन्द्र हो । आजको कालखण्डमा जनताको पक्षमा केही गर्ने र गर्दै आएको शक्ति नै नयाँ शक्ति हो । त्यो एजेण्डा माओवादीसँग मात्रै छ’ अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘हामीले एजेण्डा उठाएनौँ मात्रै, त्यसलाई आन्दोलनबाट स्थापित गरेर संविधानमा लिपिबद्ध गरेका छौँ । संविधान कार्यान्वयन गरेर हामीले उठाएका राजनीतिक एजेण्डामार्फत् जनताको जीवन बदल्न पनि फेरि माओवादी नै चाहिन्छ ।’

आफू नेतृत्वको सरकारले अघि सारेका सुशासन, सामाजिक न्याय र समृद्धिका एजेण्डा नै अब मुलुकलाई अघि बढाउन केन्द्रीय एजेण्डा हुने उल्लेख गर्दै उहाँले यसकै माध्यमबाट समाजवादमा पुग्न सकिने विश्वास पनि व्यक्त गर्नुभयो ।

सबै क्षेत्रमा युवालाई साथमा लिएर नयाँ एजेण्डा पूरा गर्न सकिने उनले स्पष्ट पार्नुभयो । अर्को एक प्रसंगमा अध्यक्ष प्रचण्डले पार्टीभित्र एउटा सिस्टम बसालेर अर्को भूमिकामा जाने सोच गरेको बताउनुभयो । आफूले पार्टीको नेतृत्व गरेको ३५/३६ वर्ष पुगिसकेको उल्लेख गर्दै भन्नुभयो, ‘पार्टी नेतृत्व भनेको आन्दोलन र इतिहासको मूल्याङ्कनबाट तय हुन्छ, विधिबाट आउँछ, सधैँ म मात्र नेतृत्वमा बसिरहनुपर्छ भन्ने होइन, एउटा सिस्टम बनाएर उत्तराधिकारी तयार गर्ने विषयमा छलफल भइरहेको छ । पार्टीको आवश्यकता, साथीहरुको जोडबल र जनभावनाले गर्दा ३५–३६ वर्षदेखि मैले नेतृत्व गरिरहेको छु, अब सिस्टम बनाएर अर्को भूमिकामा जाने सोचमा छु ।’

उहाँले पार्टी फुट्छ भन्ने हल्ला निराधार भएको र पार्टी झन एकढिक्का भएको बताउनुभयो । समाजवादी मोर्चालाई अझ व्यवस्थित बनाउँदै लैजाने र टुटफुट भएका माओवादी घटकहरुसँग एकता गर्ने क्रम पनि अघि बढ्ने अध्यक्ष प्रचण्डले जानकारी दिनुभयो ।

अध्यक्ष प्रचण्डले अहिले आफ्नो पार्टीको प्राथमिकतामा सरकार नभएको बताउँदै सरकारमा जानुभन्दा अब पार्टी निर्माण कार्यमा लागिरहेको उल्लेख गर्दै उहाँले आफू सरकार हुँदासमेत चार महिने अभियान सञ्चालन गरी पार्टीलाई सुदृढिकरण गरेर लैजाने बताउनुभयो ।

अध्यक्ष प्रचण्डले वर्तमान सरकार जनताको भावनाविपरित चलिरहेको बताउनुभयो । ‘संविधानको भावनाविपरीत बनेको सरकारले निरन्तर जनताका इच्छा विपरीत काम गरिरहेको छ’उहाँले भन्नुभयो ‘यसको विरुद्धमा हामी आवश्यक परेमा सडकमा पनि जान सक्छौँ ।’

Share This:
सम्बन्धित खबर
Loading...