दसौँ राष्ट्रिय खेलकुद पर सार्न राजनीति गर्ने भुल सरकारले नगरोस् : प्रचण्ड

32

सुर्खेत, १५ भदौ । पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दसौँ राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुनुपर्ने बताउनुभएको छ ।

शनिबार सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालाको अनुगमनपछि अध्यक्ष दाहालले आगामी मंसिरमा तय गरिएको दसौँ राष्ट्रिय खेलकुद निर्धारित समयमै हुनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘दसौँ राष्ट्रिय खेलकुद तोकिएकै समयमा सुर्खेतमा हुनैपर्छ, यसमा राजनीति गर्ने भुल सरकारले नगरोस् । यसमा पनि राजनीति गरेर दसौँ राष्ट्रिय खेलकुद पछि सार्न खोजियो भने यो हजारौँ खेलाडी र खेलप्रेमीका लागि घात हुनेछ ।’

उहाँले निर्माणको अन्तिम चरणमा रहेको रंगशाला पश्चिम नेपालको खेल क्षेत्र र खेलाडीको वृत्ति विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

‘यो अहिलेसम्मका रंगशालामध्ये विभिन्न ठाउँमा देखिएका कमीकमजोरी सच्याएर आधुनिक प्रविधिको प्रयोग गरेर जुनरुपमा निर्माण करिब करिब सम्पन्न हुने चरणमा गएको छ । यो हामी सबैका लागि खुसी र गौरवको कुरा हो । माओवादी केन्द्रले प्रदेशको नेतृत्व गरेका बेला खासगरी मुख्यमन्त्री महेन्द्रबहादुर शाही र मन्त्री बिमला केसीको पालामा यो रंगशालाई प्रदेशको गौरवको आयोजनाको रुपमा अघि सारिएकाले पनि यो हाम्रा लागि विशेष अर्थ र महत्वको छ,’ उहाँको भनाइ थियो ।

रंगशाला आधुनिक र अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनेको पाइएको उल्लेख गर्दै उहाँले यसको अत्यधिक सदुपयोग गर्नुपर्ने बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...