काठमाडौँ, १४ भदौ । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतले पछिल्लो समय नेपाल नागरिक उड्डयन प्राधिकरणमाथि उठेका प्रश्नहरुमा आत्तिहाल्नु पर्ने जरुरी नभएको बताउनुभएको छ ।
शुक्रबार कर्मचारी एकता मञ्च, नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रथम अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष राउतले कुनै पनि विमान दुर्घटनामा पर्दा प्राविधिक कारणले भन्दा पनि नागरिकहरुले सामाजिक सञ्जालमा विज्ञता देखाएर विश्लेषण गर्नु आफैँमा लज्जासपद भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘पछिल्लो समय नेपाल नागरिक उड्डयन प्राधिकरणमाथि गम्भीर प्रश्नहरु उठेका छन् । तर, यसो भन्दैमा आत्तिहाल्नुपर्ने जरुरी छैन । कुनैपनि विमान दुर्घनामा पर्दा कुनै अन्य प्राविधिक कारणले भन्दा पनि नागरिकहरले सामाजिक सञ्जालमा विज्ञता देखाएर विश्लेषण गर्ने गर्दछन् । यसले देशको छविमा कस्तो प्रभाव पार्न सक्छ भनेर जिम्मेवार नागरिकको हैसियतले लाग्नुपर्दछ ।’
साथै उहाँले नेपाल हरेक दृष्टिकोणको हिसाबले विविधतापुर्ण हुनुपर्ने बताउनुभयो । उहाँले विविधतापूर्ण भयो भने हाम्रो समाजको लागि सकारात्मक सन्देश दिन सजिलो हुने जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘नेपाल हरेक दृष्टिकोणको हिसाबले विविधतापूर्ण देश भएको हुनाले संसद्मा होस् वा अन्य कुनै ठाउँमा विविधतापूर्ण भयो भने त्यो समाजको लागि सकारात्मक हुन्छ । यदि एउटा अथवा दुईवटा मात्र संगठनहरु भयो भने त्यसले आवाज पनि उठाउन सक्दैन । कुनै कुनै देशमा रुलिङ पार्टीको मात्र संगठन हुन्छ । त्यसले त सरकारको विरोध नै गर्न सक्दैन । सरकारले जे जे भन्यो त्यहीँ गर्नुपर्ने हुन्छ । त्यसैले बढी संगठनहरु भए भन्दैमा नकारात्मक रुपमा लिनु हुँदैन । त्यसले विभिन्न पक्षबाट समस्याहरु समाधान गर्न ठुलो सहयोग गर्ने गर्दछ । त्यसैगरी धेरै संगठनहरु भयो भन्दैमा हामीले एकअर्काको विरोध गर्नुपर्छ भन्ने पनि छैन ।’