दुर्व्यसनका कारण संसार नै सखाप हुँदै जाने स्थिति सिर्जना भएको छ : माधव नेपाल

25

काठमाडौँ, १४ भदौ । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा दुर्व्यसनीमा लाग्ने युवाहरुको विशाल सञ्जाल रहेको उल्लेख गर्दै त्यस सञ्जाललाई समाप्त पार्नु पर्ने बताउनुभएको छ ।

शुक्रबार काठमाडौँमा आयोजित लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना अभियान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले दुर्व्यसनीमा संलग्न सञ्जालले नयाँ पुस्तालाई प्रभाव पार्न, समाजलाई खतम पार्न र अपराधिक क्रियाकलापलाई प्रोत्साहन गरिरहेको उल्लेख गर्दै यसलाई निर्मूल पार्न सबैले भूमिका खेल्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालमा समेत दुर्व्यसनी र दुर्व्यसनमा लाग्नेहरुको एउटा सञ्जाल देखिएको छ । त्यो सञ्जाललाई पूरै रुपमा हामीले समाप्त पार्नुपर्छ । नसकिने कुरा केही पनि छैन । सबै युवाहरुले आफ्नो ठाउँबाट इमानदार भएर लाग्नुभयो भने नसकिने कुरा हुँदैन । त्यस्ता दुर्व्यसनीहरुलाई जेल कोच्न सकिन्छ । त्यस्ता अपराधीहरुलाई कसैले पनि संरक्षण गर्ने होइन । नयाँ पुस्तामा प्रभाव पार्न, नेपाली समाजलाई खतम पार्न र पैसाको लोभमा अत्यन्त अपराधिक क्रियाकलापहरु संलग्न हुने अपराधीहरुलाई छुट दिने, सहानुभूति व्यक्त गर्ने उन्मुक्ति दिने काम गर्नु हुँदैन ।’

अहिलेका युवा तथा विद्यार्थीहरुले देशलाई अथाह माया गर्नुपर्ने अध्यक्ष नेपालको भनाइ छ ।

पछिल्लो समयका युवाहरुमा अध्ययनशीलताको कमी रहेको उल्लेख गर्दै उहाँले मान्छेलाई योग्य र सक्षम बनाउनका लागि अध्ययनको आवश्यकता पर्ने बताउनुभयो ।

दुर्व्यसनका कारण संसार नै सखाप हुने स्थिति सिर्जना भइरहेको प्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष नेपालले युवाहरुलाई नराम्रो संगत गर्न नहुन सुझाउनुभयो ।

‘अहिले युवा र विद्यार्थीहरुले सबैभन्दा बढी देशलाई माया गर्नुस् । देश र देशबासीलाई माया गर्नुभयो भने मात्र तपाईंको जीवन सार्थक हुन सक्दछ । ज्ञान र चेतना बढाउनका लागि प्रयाप्त अध्ययनको आवश्यकता पर्दछ । मान्छेलाई योग्य र सक्षम बनाउनका लागि पनि अध्ययनको आवश्यकता पर्दछ । मेहनतले नै हामीलाई सफलताको शिखरमा पुर्‍याउन सकिन्छ । जीवनमा आएका चुनौतीहरुलाई चिरेर अगाडि बढ्न सकियो भने संसारमा गर्न नसकिने चिज संसारमा केही पनि छैन । घरको जग बलियो भयो भने मात्र सिंगो घर बलियो हुन्छ भनेझै सानैबाट राम्रो मेहनत गरेमात्र भोलिको भविष्य सुन्दर छ । त्यसैले आजैदेखि श्रम गरेर सज्जनको संगत गरेर अगाडि बढ्नुहोस् । नराम्रो बानि व्यहोरा विकास नगर्नुस् । दुर्व्यसनका कारण संसार नै सखाप हुँदै जाने स्थिति सिर्जना भएको छ,’ उहाँको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...