काठमाडौँ, १३ भदौ । नेकपा (माओवादी केन्द्र)का सांसद छिरिङ डम्डुल लामा (भोटे)ले एमालेका सचिव योगेश भट्टराईले जनयुद्धको नाममा चन्दा असुलेर हतियार तस्कर जस्तो हिंसात्मक गतिविधि गरेका आरोप लगाउनुभएको छ ।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले सचिव भट्टराई आफैँ हिंसा गर्ने नाइके भएर जनयुद्धलाई हिंसा भन्नु गैरजिम्मेवारी भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘२००७ साल, २०२८ सालको विद्रोह, ०५२ सालको सशस्त्र जनयुद्ध सबै एकात्मक शासन प्रणालीविरुद्ध लडेको मुक्ति युद्ध र जनताको आवाज हुन् । जो जनमुक्ति र वर्गमुक्तिको संघर्षको बिगुल फुक्ने आँट प्रचण्डसहित सबै नेताहरुमा सम्मान छ । तर, जनयुद्धको नाममा चन्दा असुलेर हतियार तस्कर गर्ने, आफैँ हिंसाको गतिविधि गर्ने नाइकेले महान जनयुद्धलाई हिंसा भन्नु गैरजिम्मेवारी हो ।’