बिचौलियालाई विधेयकको ड्राफ्ट गर्न दिने काम बन्द गरौँ : सोविता गौतम

42

काठमाडौँ, १२ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले संसद्‌मा भर्खरै दर्ता गरिएको विधेयकहरुको ड्राफ्ट मन्त्रालयले नभइ बिचौलीयामार्फत् तयार पारिएको भन्दै आपत्ति जनाउनुभएको छ ।

बुधबार संघीय संसदअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा विधायन सम्बन्धमा बनेको विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै सांसद गौतमले सम्बन्धित मन्त्रालयले कानुन आयोगसँग छलफल गर्नुपर्ने भए पनि कन्सलटेन्सी र बिचौलियामार्फत् ड्राफ्ट तयार भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘साउन ३२ गते विधेयकहरु संसद्‌मा दर्ता भएका छन् । ती विधेयकहरु बाहिर कतै ड्राफ्ट भएर आएको भन्ने कुरा आइसकेको छ । विधेयक बनाउने जिम्मेवारी त मन्त्रालयको हो । सम्बन्धित मन्त्रालयले कानुन आयोगसँग समन्वय गर्नुपर्ने हो । तर, अस्ति जुन विधेयक संसद्‌मा छलफलको लागि आयो । त्यसको पिडिएफ डाउनलोड गरेर हेर्‍यौँ भने त्यसमा पायोनेट ल एसोसिएट्सले ड्राफ्ट गरेको कुरा प्रष्ट देखिन्छ । हाम्रा विधेयकहरु कहाँ दर्ता हुँदा रहेछन् भन्ने कुरा चाहिँ महत्वपूर्ण प्रश्न हो ।’

विधेयकका सम्बन्धमा बाहिर आएको कुराहरु गम्भीर विषय भएको उल्लेख गर्दै सांसद गौतमले विधेयकको मस्यौदा कानुन आयोगले गर्ने स्पष्ट पार्नुभयो ।

‘यो गम्भीर विषय हो । मस्यौदा कानुन आयोगले नै गर्ने हो । यसको अन्तिम जिम्मेवारी मन्त्रालयले लिने हो । विधेयकको बाहिर ड्राफ्ट गर्ने बिचौलिया अथवा कन्सलटेन्सीलाई दिने काम बन्द गर्नुपर्छ । विज्ञ चाहिन्छ । बरु मन्त्रालयले कानुन आयोगलाई समय निर्धारण गरिदिनुपर्छ । कति समयपछि ड्राफ्ट गरेर दिने हो भनेर, ’उहाँको भनाइ थियो ।

Share This:
सम्बन्धित खबर
Loading...