काठमाडौँ, ९ भदौ । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान सरकारले अगाडिको सरकारभन्दा उत्कृष्ट काम गरेर देखाउने बताउनुभएको छ । त्यसका लागि योजना अनुसारका काम अगाडि बढाइरहेको बताउनुभयो ।
आइतबार वर्तमान अवस्थामा आपूर्ति व्यवस्था र उपभोक्ता अधिकार विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री सिंहले यस्तो बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘वर्तमान सरकार कांग्रेस एमालेलगायत अरु दलहरु मिलेर बनेकाले सुशासनदेखि हरेक कुरामा राम्रो गरिरहेको छ । अझै अगाडिको सरकारको अवस्थाभन्दा राम्रो सुधार गर्नका लागि काम अगाडि बढाउँदैछौँ ।’
साथै उहाँले उपभोक्ताको जीवन सहज गर्न बजारमा देखिएका आपूर्ति सिस्टममा देखिएका कमीकमजोरीलाई हटाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले बजारमा देखिएका समस्यालाई सरकारले समाधान गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।