काठमाडौँ, ८ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता पशुपति शमशेर जबराले नेपाली राजनीतिमा भएको भ्रष्टाचार देखेर वाक्क भएको बताउनुभएको छ ।
शनिबार काठमाडौंमा आयोजित तीज विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले हामी सबैले यो मुलुकलाई विकासको गतिमा लानका लागि भ्रष्टाचारलाई जडैबाट उखेलेर फाल्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘मातृभूमि नेपाललाई निर्माण गर्ने, बनाउने, विकास गर्ने, उच्च पदस्थानमा पुर्याउने संकल्प लिएर बसेको पशुपति शमशेर मात्र हो, तर यतिका वर्ष प्रयास गर्दागर्दै पनि जनताले दुई ठुला पार्टीलाई भोट दिने, यी पार्टी शक्तिमा आउने र आइसकेपछि उनीहरुले मुलुकको दोहन गर्ने, विकासको सट्टा भ्रष्टाचार गर्ने प्रवृत्ति देखेर म वाक्क र दिक्क छु ।’
यस्तै, यो मुलुक सीता जन्मेको मुलुक भएको भन्दै सीता भनेपछि हाम्रो सम्बन्ध पवित्र महिला भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘यो मुलुक त्यो मुलुक हो , जहाँ सीताको जन्म भयो, सीता भनेपछि हाम्रो सम्बन्ध पवित्र महिला हो, उहाँको नाम लिएपछि नामैबाट आफ्नो पवित्रता सम्पूर्णता हुन्छ ।’