जहाँ नदीहरु सरर बग्छ, त्यहाँ संस्कृति पनि बगेको हुन्छ : मन्त्री सिंह

25

काठमाडौँ, ८ भदौ । नेपाली कांग्रेसका नेता एवम् उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालका सबै नदीहरुलाई जोगाएर राख्नुपर्ने बताउनुभएको छ ।

शनिबार बागमती रिभर फेस्टिबल २०२४ महाजल यात्रालाई सम्बोधन गर्दै उहाँले नदी संस्कृतिसँग पनि जोडिएकाले बचाएर राख्नुपर्ने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो,‘खास गरेर नेपालका नदीहरुलाई जोगाएर राख्नुपर्छ । नदी हाम्रो धर्म, संस्कृतिसँग पनि मेल खाएको हुन्छ । जहाँ नदीहरु सरर बगेको हुन्छ त्यहाँ संस्कृति पनि त्यहीँ अनुसार बगेको हुन्छ । बागमती सभ्यताको जुन सवाल र अवस्था छ, यसमा सबै मिलेर काम गर्नुपर्छ ।’

साथै उहाँले बागमती राजधानीको मात्र नभएर देशकै सम्पत्ति भएको उल्लेख गर्नुभयो । उहाँले विभिन्न कालखण्डमा सहरीकरणका कारण तीव्र गतिले बागमती सभ्यता बिग्रेको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘बागमती राजधानीको मात्र नभइ देशकै गहना भएकाले बचाउन जरुरी छ । विभिन्न कालखण्डमा सहरीकरणका कारण बागमतीको सभ्यता बिग्रियो । बागमतीको पानीको जुन फ्लोर छ वर्षायाममा मात्र देख्ने गरिन्छ । वर्षायाम सकिएपछि बागमती दुर्गन्धित तरिकाले बगिरहेको हुन्छ । यसमा पनि धेरै काम गर्नुपर्ने देखिन्छ ।’

Share This:
सम्बन्धित खबर
Loading...