टीकापुर हत्याकाण्डसम्बन्धी लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

41

काठमाडौँ, ७ भदौ । नागरिक उन्मुक्ति पार्टी बागमती प्रदेश समितिले टीकापुर हत्याकाण्ड सम्बन्धमा छानबिन गर्न बनेको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसमक्ष आग्रह गरेको छ ।

शुक्रबार टीकापुर हत्याकाण्ड भएको नौ वर्षको अवसरमा काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गरी नाउपा बागमती प्रदेश समितिले उक्त प्रतिवेदन सार्वजनिक नाउपालाई उन्मुक्ति दिन माग गरेको हो ।

नाउपा बागमती प्रदेश समिति उपाध्यक्ष राजेश्वर दास श्रेष्ठले सरकारले राजनीतिक घटनालाई अपराधीकरण गरेको बताउनुभयो ।

टीकापुर घटनाको वास्तविकता बाहिर ल्याउनका लागि लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने उहाँको माग छ । उहाँले टीकापुर हत्याकाण्डलाई ‘राज्यद्वारा घटाइएको बर्वतापूर्ण घटना’ को संज्ञा दिनुभयो ।

नाउपाका केन्द्रीय उपाध्यक्ष राजेश अधिकारीले तत्कालीन समयमा स्थानीय स्वायत्तसहितको प्रदेश पाउनुपर्छ भनेर नागरिकहरुले आवाज उठाउँदै गर्दा अखण्ड सुदूरपश्चिमको नाममा जनता विभाजित गराएर द्वन्द्वको अवस्था सिर्जना गराइएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘केही व्यक्तिहरुले अखण्ड सुदूरपश्चिमको कुरा गर्दै थिए । कसैले थारूहटका कुरा गर्दै थिए । थारूहटका कुरा गर्दैगर्दा अखण्ड सुदूरपश्चिमवालाहरुसँग आक्षेपका कुराहरु आए, प्रहरीले पर्याप्त मात्रामा सुरक्षा दिन सकेन । प्रहरी प्रशासनले थप बलल पठाउनुपर्थ्यो । कुनै किसिमको तयारी नगरेको आवस्थामा प्रहरीले उपस्थिति मात्रै जनाउँदा दुर्भाग्यबस द्वन्द्व भयो । धेरै जनालाई सहादात प्राप्त गर्नुभयो । महिनौँ महिनौँ दिनसम्म राज्यपक्षबाट नै आतंक फैलाइयो ।’

टीकापुर घटनापछि थारूहरुको ८४ वटा घर जलाइएको र थारू चेलीबेटीहरुमाथि राज्यपक्षबाट बालात्कारजस्ता निकृष्ट घटना घटाइएको उहाँको दाबी छ । उक्त घटनाबाट पीडित थारूहरुलाई राज्यले उचित सम्बोधन गरिनुपर्ने उहाँको माग छ ।

यस्तै, बागमती प्रदेशका अध्यक्ष दलबहादुर तामाङ र नाउपा बागमती प्रदेश सदस्य एवम् पार्टीको युवा संगठनका प्रमुख विश्वास लामाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग राख्नुभएको थियो ।

२०७२ भदौ ७ गते आजकै दिन कैलालीको टीकापुरमा सात जना प्रहरी र एक जना बालकको ज्यान जानेगरी हत्या भएको थियो । उक्त विद्रोहमा वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहितको टोलीमाथि खुर्पा, भाला, बञ्चरो, खुकुरीलगायतका घरेलु हतियारहरू प्रहार गरी हत्या गरिएको थियो ।

वरिष्ठ प्रहरी उपरीक्षक न्यौपाने, प्रहरी निरीक्षक बलराम विष्ट र केशव बोहरा, प्रहरी हवल्दार लक्ष्मण खडका, प्रहरी जवान लोकेन्द्र चन्द, सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार ललित साउद र सशस्त्र प्रहरी जवान रामविहारी चौधरी र दुई वर्षीय बालक टेकबहादुर साउद उक्त घटनामा मारिएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...