काठमाडौँ, ६ भदौ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् कांग्रेसको पेशागत तथा बुद्धिजीवी विभाग प्रमुख डा.डिला संग्रौलाले स्वर्गीय प्रदीप गिरिले व्यक्त गर्नुभएको विचार र अबलम्वन गर्नुभएको बाटो आजको दिनमा अपरिहार्य भएको बताउनुभएको छ ।
नेपाली कांग्रेसको पेशागत तथा बुद्धिजीवी विभागले आयोजना गरेको समाजवादी चिन्तक स्व.प्रदीप गिरिको स्मृतिमा ‘प्रजातान्त्रिक समाजवादः वर्तमान र भविष्य विषयक अन्तरक्रियामा डा.संग्रौलाले प्रदीप गिरिबाट व्यक्त विचारहरु सधैँ अमर रहने बताउनुभयो ।
उहाँले भन्नुभयो,‘कुनै संघसंस्थामा होस या पार्टीभित्र जनताको पिरमर्काको सम्बोधन हुनुपर्छ भनेर जनताको प्रिय हुनुहुन्थ्यो प्रदीप गिरि । महिलाहरुलाई नेतृत्वमा आउनुपर्छ भनेर समावेशीको पक्षमा हुनुहुन्थ्यो । युवाले पार्टी हाक्नुपर्छ र अग्रज बौद्धिक वर्गले दिएको विचारलाई पार्टी र सरकारले आत्मसाथ गर्नुपर्छ भन्नुहुन्थ्यो । समग्र नेपाली जनताको आवाज सुन्दा उहाँ नेपालीको अभिभावक हुनुहुन्थ्यो । उहाँलाई सम्झिँदै विचार मन्थन गर्ने बेला आएको छ ।’
डा.संग्रौलाले विचार र दर्शन दिनसक्ने मान्छे सधैँका लागि अमर रहने भएकाले उहाँप्रति सम्मान व्यक्त गर्नुपर्छ भन्नुभयो । ‘गिरि जस्ता व्यक्तिहरु भौतिकरुपमा मरे पनि विचारका रुपमा कहिल्यै मर्दैनन् । आजको समाजवाद भनेको महिलाको मुक्ति हो, युवाले मुलुकभित्रै रोजगारी पाउनुपर्छ भन्ने हो, अस्पतालको बिरामीले उपचार पाउनुपर्छ अर्थात् संविधानले व्यवस्था गरेको मौलिक हकमा भएको शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी हुनुपर्छ भन्ने हो । किसानले समर्थन मूल्य पाउनु नै समाजवाद हो,’ उहाँले भन्नुभयो ।
आजको समाजवादमा बिपी कोइरालाले आत्मसाथ गर्नुभएको विचारमा जस्तो हुनुपर्ने भन्दै उहाँले भन्नुभयो,‘गिरीको विचारमा बिपीभित्र गान्धीवाद, मार्क्सवाद, समाजवाद र यथार्थवादको सम्मिश्रण भएकाले सोहीअनुसारको विचारलाई सम्मान गर्नुपर्छ ।’
नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवको प्रमुख आथित्यमा भएको कार्यक्रममा सांसद डा.चन्द्र भण्डारी, प्राध्यापक कृष्ण खनाललगायतले मन्तव्य राख्नुभएको थियो ।