सट्टेबाजी कसुरमा पक्राउ परेकालाई छुटाइदिन्छु भन्दै ४५ लाख ठगी

44

काठमाडौँ, २७ जेठ । अनलाइन सट्टेबाजी कसुरमा पक्राउ परेका एक युवकलाई छुटाइदिन्छु भन्दै ४५ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुरको धापाखेल बस्ने सर्लाही मलंगवा–४ का ४५ वर्षीय मुन्ना भनिने सुजितकुमार सिंह छन् । फोटोकपी गर्ने सामान्य पसल चलाएर बसेका एक युवकको करोडौँको बैंकिङ कारोबार रहेको खुलेपछि अनुसन्धान गर्दै जाँदा प्रहरीले सर्लाहीको मलंगवा–९ का ३१ वर्षीय सञ्जयकुमार साह, १९ वर्षीय रामजी साह र ३० वर्षीय राकेश चौधरीलाई गत चैत २९ मा पक्राउ गरेको थियो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार अनुसन्धानबाट सञ्जय वान एक्स बेटिङका नेपाल एजेन्ट रहेको खुलेको थियो । सञ्जयको निर्देशनमा रामजी र राकेशले काम गरिररहेको खुलेपछि तीनै जनालाई पक्राउ गरेर प्रहरीले काठमाडौँ ल्याएको थियो ।

मोबाइलको सिम कार्ड पनि बेच्ने सञ्जयले अर्काका कागजपत्र दुरुपयोग गरेर सिम चलाउने गरेको अनुसन्धानमा भेटिएको जनाएको प्रहरीले ९८ वटा बैंक खाता खोलेर कनेक्ट आइपिएसमार्फत पैसाको कारोबार गरेको फेला पारेको थियो । गत वैशाख पहिलो साता प्रहरीले पत्रकार सम्मेलन गर्दै सञ्जयले पक्राउ पर्दासम्मको मितिमा ५७ करोड ४१ लाख रुपैयाँभन्दा बढीको कारोबार गरेको पाइएको जनाएको थियो ।

थुनामा रहेका सञ्जयलाई छुटाइदिने भन्दै सिंहले ठगी गरेको खुलेको हो । प्रहरीका अनुसार सञ्जयका आफन्तसँग सम्पर्क गरी सिंहले ‘मेरो उच्च पदस्थ व्यक्तिहरुसँग नजिकको चिनजान छ । मैले आफैँ सरकारी वकिल, न्यायाधीश, प्रहरीसमेतलाई तलदेखि माथिसम्म पैसाले सेटिङ मिलाउछु’ विश्वास दिलाएर ठगी गरेका हुन् । सञ्जयका आफन्तलाई काठमाडौँका विभिन्न स्थानमा बोलाइ भेटघाट गरेर नगद २० लाख र चेकमार्फत् थप २५ लाख रुपैयाँ ठगी गरेको पाइएको प्रहरीले आइतबार जनाएको हो ।

उनलाई ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकुको हिरासतमा राखिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...