काठमाडौँ, २७ जेठ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले अध्यादेश ल्याएर आफ्नो पार्टीलाई सिध्याउन कम्युनिस्टहरु नै लागि परेको आरोप लगाउनुभएको छ ।
आइतबार पार्टीले आयोजना गरेको ‘नेपालमा समाजवादी क्रान्ति’अन्तरक्रिया कार्यक्रममा उहाँले अध्यादेश ल्याएर एकीकृत समाजवादी पार्टीलाई स्वतन्त्र पार्टीको हैसियतमा पुर्याएर जसपाका दोस्रो तारो बनाएको बताउनुभयो ।
उहाँले भन्नुभयो,‘यहाँ कम्युनिस्ट भनिएकाहरु नै कम्युनिस्ट विरोधी भइरहेका छन् । कम्युनिस्ट पार्टीलाई सिध्याउन कम्युनिस्टहरु नै कसरी लागे भन्ने कुरा हामीले बुझ्नुपर्छ । अध्यादेश ल्याएर हाम्रो पार्टीलाई स्वतन्त्र पार्टीको हैसियतमा पुर्याउन लागेका छन् । त्यसैले हाम्रा मान्छेलाई जहाँ पनि जान दिने ? जसरी जनता समाजवादी पार्टीलाई जुन स्थानमा पुर्याउन काम भयो दोस्रो तारो हामी बनिरहेका छौँ । यथार्थलाई बुझ्न सकेनौँ भने गफले मात्र केही हुनेवाला छैन ।’
उहाँले युवा भनेर भ्रष्टाचारमा चुर्लुम्म डुब्ने, जाँडरक्सीमा पूरै घैँटो समाप्त पार्ने प्रवृत्तिलाई छुट दिन नसक्ने तर्क गर्नुभयो ।
नेपालले एक दलीय शासनले समाजवाद स्थापित हुन नसक्ने टिप्पणी पनि गर्नुभयो । उहाँले अहिले पार्टीलाई जोगाउने कुरा पहिलो कुरा भएको बताउनुभयो । पार्टीलाई सशक्त बनाउन, नयाँ क्रान्तिकारी योद्धाहरु र युवालाई आकर्षण गर्ने मूल काम भएतापनि युवा भनेर भ्रष्टाचारमा चुर्लुम्म डुब्ने, जाँडरक्सीमा पूरै घैँटो समाप्त पार्ने प्रवृत्तिलाई छुट दिन नसकिने बताउनुभयो ।
उहाँले भन्नुभयो,‘अहिलेको अवस्थालाई विश्लेषण पार्टीलाई जोगाउन, अस्तित्व रक्षा गर्ने पहिलो कुरा हो, संगठन बलियो बनाउने कुरा दोस्रो हो। पार्टीलाई सशक्त बनाउन,नयाँ क्रान्तिकारी योद्धा र युवालाई आकर्षण गर्ने मूल काम हो । भ्रष्टाचारमा चुलु्म्म डुब्ने, जाँडरक्सीमा पूरै घैँटो समाप्त पार्ने प्रवृत्तिलाई छुट दिन सकिँदैन ।’