कांग्रेस ८४ सम्म प्रतिपक्षमा बस्छ, सरकार गिराउन लाग्दैन : महामन्त्री थापा

28

काठमाडौँ, २६ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस २०८४ सालसम्म प्रतिपक्षको भूमिकामा बस्ने बताउनुभएको छ ।

शनिबार काठमाडौँमा आयोजित ‘वर्तमान राजनीतिक अवस्थामा कांग्रेसको भूमिका’ विषयक कार्यक्रममा उनले नेतृत्व तहसँग बसेर प्रशस्त छलफल गरिसकेको र छलफलबाट अब २०८४ सालसम्म कांग्रेस संघीय संसदभित्र प्रतिपक्षको भूमिकामा बस्ने समझदारी कायम गरिसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले हामी प्रतिपक्षमा आएका छौँ । परिस्थितिले प्रतिपक्षमा ल्याएको छ । केही दिनमा हाम्रो पार्टीको केन्द्रिय समितिको बैठक बस्छ र ०८४ सम्म शसक्त प्रतिपक्षमा बस्नेबारे औपचारिक निर्णय गर्दछ । नेतृत्वसँग त्यही समझदारी भइसकेको छ । ०८४ सम्म सरकार बनाउन, गिराउन, कतै आँखा पनि लगाउँदैनौँ, हात पनि लम्क्याउँदैनौँ ।’

उहाँले नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठमाथि महिला भएकै कारणले स्त्रीदोषी अभिव्यक्ति दिएको आरोप लगाउनुभयो । उहाँले ओलीको अभिव्यक्ति विभेदपूर्ण, गलत र घृणाले भरिएको अभिव्यक्तिलाई कांग्रेसले गलत हो भन्न सक्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘केही दिनअघि नेपालको एकजना पूर्वप्रधानमन्त्रीले अहिलेको बहालवाला मन्त्रीको बारेमा एउटा तुच्छ टिप्पणी गर्नुभयो । महिला भएको कारणले हेपेर टिप्पणी गर्नुभयो । र त्यो हेपाई र उहाँले दिएको अभिव्यक्ति स्त्रीदोषी पनि थियो । अभिव्यक्ति विभेदपूर्ण, गलत र घृणाले भरिएको थियो । अब नेपाली कांग्रेसको एउटा व्यक्तिले घटनाका बारेमा धारणा बनाउदा अल्मलिन हुँदैन । पूर्वप्रधानमन्त्रीले, पार्टीको नेताले अर्को पार्टीको नेता, जो बहालवाला मन्त्री हुनुहुन्छ, उसको बारेमा मात्रै होइन, कुनैपनि नेपाली नागरिक र महिलाका बारेमा गरेको यो टिप्पणी गलत छ । कांग्रेसका आँखाले हेर्दैगर्दा गलत भन्न सक्नुपर्छ ।’

उहाँले कांग्रेस संसद्को ठुलो दल र संविधान निर्माण गर्नेको नेतृत्व गरेको पार्टी भएकाले केही जिम्मेवारी रहेको बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...