काठमाडौँ, २६ जेठ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन भइसक्दा पनि सत्तामै बसिरहनु सान्दर्भिक नभएको बताउनुभएको छ । लामिछानेमा नैतिकता नदेखिएको उहाँको आरोप छ ।
शनिबार काठमाडौँमा आयोजित ‘वर्तमान राजनीतिक अवस्थामा नेपाली कांग्रेसको भूमिका’ विषयक कार्यक्रममा बोल्दै उहाँले सहकारी विषयमा छानबिन समिति बनिसकेपछि पनि पदमा बसिरहनु ‘नांगो भइसकेपछि पनि आफूलाई कपडा लगाएको ठान्नु’ जस्तै हो भन्नुभयो । नैतिकता बोध नगरिने अभ्यास नेपाली राजनीतिमा एउटा गम्भीर विषय रहेको बताउनुभयो ।
‘कांग्रेसले ७३ लाख जनता जोडिएको एउटा मुद्दालाई निर्णायक मोडमा पुर्याएको छ । कांग्रेसले यो मुद्दा उठाइसकेपछि बाध्य भएर कतिपय पार्टीहरु जोडिएको अवस्था हो । सत्तालाई सम्पूर्ण रुपमा दुरुपयोग मुद्दा उठ्न नदिन, गुपचुप राख्न, प्रमाण लुकाउन सम्पूर्ण रुपमा अहिलेको सत्तारुढ गठबन्धन लागेको स्थिति थियो,’ उहाँले अगाडि भन्नुभयो, ‘हामीले संसदीय समिति गठन गरेर जसमाथि छानबिन गर्न खोजिरहेका छौँ । उहाँले राजीनामा दिनुपर्दैन भनेर फकाउने काम भएको छ ।’
उहाँले भन्नुभयो,‘कोही नांगै छ र पनि कपडा लगाएको ठान्छ भने त्यसमा हाम्रो केही लाग्दैन । त्यसैले संसद्ले छानबिन समिति गठन भयो । त्यसपछि पनि नैतिकताको बोध नगरिने राजनीतिको अभ्यास एउटा गम्भीर प्रतिगामी कदम हो । ’
उहाँले नेपाली राजनीतिमा जसलाई प्रश्न छ उनलाई छानबिन गरिएको र तिनै व्यक्तिले सत्ता चलाउने खालको अभ्यास भइरहेको भन्दै त्यस्तो प्रवृत्ति कांग्रेसले अन्त्य गरेर छाड्ने जिकिर गर्नुभयो ।