‘मोरल अथोरीटी’को सम्मान गर्ने संस्कार आवश्यक : राष्ट्रपति पौडेल

13

काठमाडौँ, २५ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रको सुदृढीकरणका लागि ‘मोरल अथोरीटी’ को सम्मान गर्ने संस्कार आवश्यक रहेको बताउनुभएको छ ।

शुक्रबार अन्तर व्यवस्थापिका मञ्च नेपालको भेलाले गरेका निष्कर्ष र घोषणापत्र आयोजित कार्यक्रममा उहाँले मोरल अथोरीटीको सम्मान गर्ने संस्कार जति विकास हुन्छ त्यति नै लोकतन्त्र सुदृढ हुँदै जाने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मोरल अथोरीटीको सम्मान गर्ने संस्कार जति विकास हुन्छ त्यति नै लोकतन्त्र सुदृढ हुँदै जाने हो । तर मोरल अथोरीटीको सम्मान गर्ने संस्कार बसिसकेको छैन । अति दलवन्दीले कहिलेकाहीं अप्ठयारो पार्छ । यसले निमुखाको न्याय मार्छ । त्यसैले एउटा सीमा र मर्यादामा रहेर मात्र दलहरुले भूमिका निर्वाह गर्नुपर्दछ ।’

उहाँले हाम्रो संविधानले महिला, दलित, जनजाति, अल्पसंख्यक र निमुखा नागरिकलाई दिएको अधिकार अन्तर्राष्ट्रिय जगतलेसमेत प्रशंसा गरेको र दक्षिण एसियामा यत्तिको संविधान नभएको बताउनुभयो ।

संसद्को नेतृत्वको भूमिका लोकतन्त्रका लागि महत्वपूर्ण हुने भएकाले उनीहरुले तटस्थ भूमिका निर्वाह गर्न सुझाव दिँदै राजनीतिक दलहरुले पनि नेतृत्वप्रति पूर्वाग्रह राख्न नहुने उहाँको भनाइ छ ।

राष्ट्रपति पौडेलले संसद्को काम सरकार निर्माण, कानुन निर्माण, जनसरोकारका मुद्दाहरूको सम्बोधन, नागरिक अधिकारहरूको संरक्षण, लोकतान्त्रिक मूल्य मान्यताहरूको सुनिश्चितता र सरकारमाथि निगरानी गर्ने पनि बताउनुभयो ।

‘हाम्रो संविधानले विधायिकी अधिकार संघ, प्रदेश र स्थानीय तहमा विभाजन गरेको छ, विधायिकी जिम्मेवारी निकै गहन र बृहत् हुन्छ भन्नेमा हामीहरू जानकार नै छौँ,’उहाँले भन्नुभयो ।

मुलुक संघीयतामा गएपछि २०७५ सालदेखि नै अन्तर व्यवस्थापिका मञ्च नेपालको नाममा अनौपचारिक फोरम निर्माण गरी संघ र प्रदेश सभाको अनुभव आदान प्रदान गरेर मञ्चले असल अभ्यास सुरु गरेको र यस प्रकारको अभ्यासले संघीय संसद् र प्रदेश सभाबीचको सम्बन्ध विकास गर्न तथा संसदीय अभ्यासमा एकरुपता कायम गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...