कर्णालीमा कम्युनिस्ट सरकारको नजर कहिलेपनि पर्न सकेन : डा.संग्रौला

73

मुगु, २४ जेठ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले गठबन्धनबाट बनेको वर्तमान सरकारले कर्णालीबासीका लागि शिक्षा र रोजगारी र विकासका क्षेत्रमा काम गर्न नसकेको बताउनुभएको छ । उहाँले वर्तमान सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउनुभयो ।

नेपाली कांग्रेस मुगुले बुधबार गमगढीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेला एवम् अन्तरक्रियामा बोल्दै संग्रौलाले कर्णालीको विकामा सरकारको गति, चाल, ढंग र प्रतिबद्धता नभएको उल्लेख गर्दै सत्ताको आँखा कर्णालीमा नपरेको टिप्पणी गर्नुभयो ।

‘एमाले, माओवादीसहितको सरकारले गरिबी, अशिक्षा र रोजगारीका क्षेत्रमा काम गर्न सकेको छैन । भ्रष्टाचारमा लिप्त छ । सहकारीको बचत रकम अपचलन गरेर बसेको छ,’ उहाँले भन्नुभयो, ‘गरिबलाई झन् गरिब बनाउने, सर्वहारा वर्गहरुको पार्टी भन्नेहरुले मजदुरहरुलाई दमन गर्ने, महिलाहरुमा जागरण ल्याउँछु भन्नेहरु दमनमा व्यस्त भएको, युवालाई रोजगारी दिन्छु भनेर बजेट ल्याउनेहरुले लाखौँ युवाहरु विदेश पठाइरहेको छ ।, कतिपय युवाहरु तातो घामबाट पिल्सिएर बक्सामा फर्किन बाध्य छन् ।’

कार्यक्रममा डा.सग्रौलाले कर्णालीले कांग्रेस बचाएको उल्लेख गर्दै कर्णालीमा संस्कार, भावना, जागरण रहेको बताउनुभयो । उहाँले कर्णालीबासी नेताहरुसँग आशावादी रहेको र विकासमा अशिक्षा र रोजगारीका क्षेत्रमा पछाडि परेको कर्णालीलाई उज्यालो कर्णाली बनाउन कांग्रेसले काम गरिरहेको दाबी गर्नुभयो ।

सदन र सडक दुवै ठाउँमा हुँदा कांग्रेसले कर्णाली नबिर्सिएको जिकिर गर्दै संग्रौलाले एउटा अठोट र संकल्प गर्नका लागि कर्णाली भ्रमणमा आएको बताउनुभयो । ‘हामी कांग्रेसको दस्तावेज बनोस् भनेर आएका हौँ । आगामी दिनमा कर्णालीलाई सँगसँगै लाने बचन दिन आएका हौँ,’उहाँले भन्नुभयो ।

यस्तै, उहाँले आगामी स्थानीय तह निर्वाचनमा ४० प्रतिशत महिलालाई मेयर, उपमेयर र वडाध्यक्ष दिनुपर्ने उल्लेख गर्दै कर्णालीमा कांग्रेसको शाख जोगाउन नेताहरुलाई आग्रह गर्नुभयो । ‘कांग्रेस बचाउन नसके मुलुक बन्दैन । लोकतन्त्र जोगिँदैन । त्यसैले मन, बचन र कर्मले कांग्रेस बचाउन लागौँ, सहयात्रामा सँगै हिँडौँ,’ उहाँले भन्नुभयो ।

पूर्वमन्त्री एनपी साउद, पार्टीका केन्द्रीय सदस्य अब्दुल सतार, केन्द्रीय सदस्य गोविन्द बहादुर शाहलगायतका नेताहरु संग्रौलासँगै पार्टीका अगुवा कार्यकर्ता भेटघाट र अन्तरक्रियाका लागि कर्णाली यात्रामा छन् ।

Share This:
सम्बन्धित खबर
Loading...