मानव तस्करीको आशंकामा २८ बालबालिका सुर्खेत प्रहरीको नियन्त्रमा

15

मुगु, २२ जेठ । कर्णालीका हिमाली जिल्ला मुगु र हुम्लाबाट २८ जना बालबालिकालाई काठमाडौँ ल्याउँदै गर्दा मानव तस्करीको आशंकामा सुर्खेत प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकामध्ये १६ जना बालिका र १२ जना बालक रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले सोमबार राति १२ बजेतिर वीरेन्द्रनगरको तीनकुने चोकबाट बालबालिकासहित ती व्यक्तिलाई नियन्त्रणमा लिएको पुष्टि गरेको हो ।

प्रहरी नियन्त्रणमा परेका व्यक्ति नाम्गेल छिरिङ हुन् । उनले बैद्धलगायतका उपत्यकामा रहेका गुम्बाहरुमा ति बालबालिकालाई परिवारको सहमतीमै राखेर उनीहरुको पालनपोषण र शिक्षादिक्षा दिने हेतुले काठमाडौँ लैजान लागेको दाबी गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी लक्ष्मण साहीले बताउनुभयो ।

डिएसपी साहीले भन्नुभयो, ‘बालबालिकाकालाई बैद्धलगायतका काठमाडौँका गुम्बाहरुमा राखेर पढाउने, पालनपोषण गर्ने भनेर लैजान लागेको ति व्यक्तिले देखाएको काजगमा उल्लेख छ । तर, हामीलाई शंका लागेरै नियन्त्रणमा लिएर थप अनुसन्धान र परिवारसँग सोधपुछ गरिरहेका छौँ ।’

हालसम्मको अनुसन्धानको क्रममा मानव बेचविखनभन्दा पनि आर्थिक अवस्था कमजोर भएका अभिभावकलाई ललाइफकाई गरी ति बालबालिकाको जिम्मेवारी लिने भन्दै काठमाडौँ लैजान लागिएको खुल्न आएको साहीले जानकारी दिनुभयो । तर, शंकास्पद देखिएकाले थप अनुसन्धान गरिरहेको उहाँको भनाइ छ ।

‘हुम्ला र मुगुका २८ जना बालिबालिकालाई परिवारका सदस्यकै सहमतीमा पठाइएको देखिएको छ । दुई वाहेक २६ वटा स्थानीय तहका वडा कार्यालयले दिएको निवेदन उक्त व्यक्तिसँग छ तर आवश्यक थप कागजपत्र नाम्गेल छिरिङसँग छैन । उनीहरुलाई नियन्त्रणमा लिएपछि परिवारका सदस्यहरुले सहमतिमै पठाएको भन्दै तगातार फोन गरिरहेका छन् । तर, हामी बालबालिकाबारे थप अनुसन्धान गरिरहेका छौँ’ साहीले भन्नुभयो ।

तर, डिएसपी साहीले ति बालबालिका मुगु र हुम्लाका भएपनि कुन स्थानीय तहका भनेर खुलाएको छैन । प्रहरीले नियन्त्रणमा लिइएका २८ जना बालबालिकालाई सुर्खेतकै आवाज भन्ने संस्थामा राखेको जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...