नयाँ पार्टीहरुको चित्र मात्रै हेरेर हुँदैन, चरित्र हेर्नुपर्छ : किरण पौडेल

12

विसं. २०३५ सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय बागलुङका किरण पौडेल यतिबेला नेपाली कांग्रेसको केन्द्रीय सदस्यको भूमिकामा हुनुहुन्छ । नेविसंघको महामन्त्री हुँदै कांग्रेसको राजनीतिमा दशकौँ बिताउनुभएका उहाँ संसदीय अभ्यास गर्ने अवसरबाट निरन्तर बञ्चित हुँदै आउनुभएको छ । पार्टीमा गरेको योगदान र सक्रियतालाई अवमूल्यन गरिएको भन्दै उहाँले एक वर्षअघि कांग्रेस छाड्ने घोषणा पनि गर्नुभएको थियो । तर, सभापति शेरबहादुर देउवाको आग्रहमा उहाँ पुनः पार्टीको सक्रिय भूमिकामा आउनुभएको छ ।

विशेषगरी प्रवासमा रहेका नेपालीहरुसँग राम्रो सामिप्यता बनाउनुभएका उहाँ जिल्लामा पनि उत्तिकै लोकप्रिय हुनुहुन्छ । केही दिनअघि मात्र पौडेललाई सभापति देउवाले जनसम्पर्क समन्वय विभागको प्रमुख बनाउनुभएको छ । विश्वका करिब ३६ देशमा फैलिएको कांग्रेसको जनसम्पर्क समितिको भावी कार्यक्रम, राष्ट्रिय राजनीति एवम् समसामयिक विषयमा पौडेलसँग गरिएको कुराकानी सम्पादित अंशः

भर्खरै मात्र नेपाली कांग्रेसको जनसम्पर्क समन्वय विभागको प्रमुखको जिम्मेवारी पाउनुभएको छ । ठुलो दलको विभागलाई अब कसरी अगाडि बढाउनुहुन्छ ?
विभागको जिम्मेवारी लिएको लामो समय भएको छैन । जनसम्पर्क समितिहरुका बारेमा अध्ययन गरिरहेको छु । अवस्था बुझिरहेको छु र प्रवासमा रहेका साथीहरुसँग संवाद गरिरहेको छ । सम्पर्क समितिहरुको थप विवरणको सबै कार्यालयबाट जानकारी संकलन गरिरहेको छु । अहिले नै के गर्ने भन्ने योजना बनाएको छैन । विभागलाई कसरी राम्रो बनाएर अगाडि बढाउन सकिन्छ यस विषयमा थप अध्ययनपछि मात्रै मैले काम गर्ने छु ।

नेपाली राजनीति एकदमै अस्थिर देखिन्छ, तपाईंले चाहिँ कसरी हेरिरहनुभएको छ ?
नेपालको वर्तमान राजनीतिक अवस्था अत्यन्तै सनसनीपूर्ण र चुनौतीपूर्ण अवस्थामा छ । हामीले यसलाई समयमै सम्हाल्न सक्यौँ र सही दिशा दिन सक्ने हो भने राम्रो निचोड निस्किन सक्ने अवस्था आउनसक्छ । एकले अर्काको पोल खोलाखोल गर्न जुन स्तरमा जे जति क्रियाकलाप भएका छन् त्यसले एउटा गलत काम गर्ने मान्छेसँग अर्को गलत गर्ने मान्छे मिलेर ढाकछोप गर्ने जुन परम्परा थियो त्यसलाई अन्त्य गरिदिएको छ । गलत गर्ने मान्छेको गल्ती काहीँ न काहीँ निस्किन्छ, ढाकछोप गर्न सकिँदैन । ठग, बदमासी, दलालीहरु जसले यो व्यवस्थालाई वितृष्णातिर लैजान खोजेका थिए ती सबैलाई झापड दिएको छ । नयाँ किसिमको सुरुवात भएको छ । गलत कुराहरुलाई हामीले अन्त्य गर्नेछौँ ।

तर सरकारको गतिविधि अलिक प्रतिशोधपूर्ण देखिन्छ । सरकारले निष्पक्ष भएर सबैलाई सँगै लिएर काम गर्न सकेको छैन । निष्पक्ष यस अर्थमा कि गलत गर्नेलाई कारबाही गर्न सरकार तयार हुनुपर्छ । कांग्रेसले लाखौँ सहकारीपीडितको विषय उठाएर छानबिन समिति माग गर्दा आखिरमा सरकार झुकेर बनाउनैपर्ने अवस्थामा पुग्यो । सुरुमै बनाएदिएको भए धेरै गतिविधिहरु अहिले अगाडि बढिसक्ने थिए । गल्ती गरेकामाथि छानबिन हुन्छ र कारबाही हुन्छ भन्ने परेपछि धेरै मानिसहरु तर्सिन्थे । हुँदाहुँदा यहाँ ठगहरुको बीचमा कतै मेलमिलाप नै त हुँदैन भन्ने डर पनि बढ्दै गयो । ठगले सजाय पाउने कुरालाई बिर्सिएर राजनीति छोड्छु र अरुले पनि छोड्नपर्छ भन्नेसम्मको कुराहरु गरे । बदमासी गरेपछि राजनीतिबाट बच्न सक्छु भनेर धेरै प्रकारका कुराहरु भए । अन्ततः समिति बनेको छ । जुन प्रतिशोधपूर्ण व्यवहार मिडिया र राम्रो दृष्टिकोण राखेर हिँड्ने मानिसप्रति भएको थियो । समिति गठनपछि गल्ती गरिएछ भन्ने महसुस गराएको छ । त्यसले एक किसिमले सही बाटो लिन सक्छ । अनावश्यक रुपमा दोषारोपण गरेर छुट पाइँदैन भन्ने वातावरण बनेको छ ।

छानबिन समिति कुरा गरिरहँदा यो समितिले पारदर्शी, निष्पक्ष र तथ्यपूर्ण रुपमा काम गर्न सक्छ भन्नेमा तपाईं विश्वस्त हुनुहुन्छ ?
छानबिन समितिको संयोजकमाथि धेरै साथीहरुले प्रश्न गर्नुभएको छ । तर, समितिमा उहाँ मात्र हुनुहुन्न । सदस्यहरु पनि हुनुहुन्छ । उहाँहरु उत्तिकै जिम्मेवार बन्नुपर्छ भन्ने लाग्छ । त्यहाँ पार्टीगत रुपमा प्रतिनिधित्व भएको छ । एमालेको संयोजक हुँदा कांग्रेस र अरु पार्टीकाले गलत कुरालाई औँल्याएर एकएक छानबिन गर्नुपर्छ । यदि त्यो भएन भने, कसैलाई बचाउने, लुकाउने कुराहरु आयो भने हाम्रो पार्टीका सदस्यले भोलि त्यहाँ भएको कामकारबाहीप्रति छुट्टै प्रतिवेदन बनाएर जनतामाझ जानहुन्छ । त्यसका लागि उहाँहरु तयार हुनुपर्छ भन्ने लाग्छ । कोही पनि गलत काम गर्ने मान्छे समितिमा बहुमत छ, सरकारको पावर छ भन्ने हिसाबले ढाकछोप हुन सक्दैन ।

२०४६ सालपछिका सबै फाइलहरु खोल्न तयार छौँ भनेर कांग्रेसकै नेताहरुले भनिरहनुभएको छ । कांग्रेस उपसभापतिले संकल्प प्रस्ताव नै पेस गर्नुभएको छ । यसका लागि सबै दलहरु तयार होलान् भन्ने लाग्छ ?
हाम्रो पार्टी उपसभापति धनराज गुरुङले प्रतिनिधि सभामा २०४६ सालपछिका राजनीतिक, सामाजिक, आर्थिक, नेताहरुको मात्र होइन ब्युरोक्रेसीमा भएकाहरुको पनि विना पूर्वाग्रह छानबिन गरी सत्यतथ्य पत्ता लगाएर कारबाही गर्नुपर्छ भनेर संकल्प प्रस्ताव पेस गर्नुभएको छ । मलाई लाग्छ हाम्रो अग्रसरतामा सबै राजनीतिक दल त्यसमा सहमत भई छानबिन हुन्छ । गलत गरेकालाई कारबाही हुन्छ भन्ने कुरा कुरामा विश्वस्त छु ।

छानबिन गर्ने त भन्नुभयो तर दुधको साक्षी बिरालो भनेझैँ पार्टी भित्रकालाई बचाउन छानबिन समितिलाई प्रभावित बनाउन लाग्छन कि भन्ने आशंका पनि त छ नि ?
संकल्प प्रस्ताव दर्ता भइसकेपछि तपाईंले राखेको जिज्ञासामा हाम्रो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा यो कुरा उठिसकेको छ । कपोकल्पित रुपमा केही नेताहरुमाथि दोषारोपण गरिएको छ, सबै नेताहरुले त्यहाँ आफ्ना कुरा राखेर खुला रुपमा छानबिन गर्न कसैले कसैलाई रोक्दैन भन्नुभएको छ । यद्यपि, कांग्रेसभित्र त्यस्तो दोषी मान्छे कोही बसेको पनि छैन र कसैलाई कांग्रेसले बचाउन ढाकछोप गर्ने कुरै आउँदैन । गल्ती गरेकालाई कारबाही गर्न सबैले चुनौती दिनुभएको छ । कांग्रेसभित्र त्यस्ता मान्छे छैनन् ।

छानबिनका सवालमा कांग्रेसको आफ्नै दाबी छ, एमालेको आफ्नै, यो कुरालाई यही बिट मारौँ । तर, पुराना दलहरुप्रति वितृष्णा बढेको छ र जनता आजित छन् । नयाँ दलहरु राष्ट्रिय र क्षेत्रीय राजनीतिमा आइसकेपछि जनताको मन भाँडिएको छ । केही स्थानमा निर्वाचनले पनि त्यसलाई पुष्टि गर्छ । के जनता पुराना दलबाट बिरक्तिएका हुन् ?
जनताहरु पुराना दलबाट बिरक्तिएको भन्दा पनि उनीहरुले जे जति गर्नुपर्ने थियो त्यति गर्न सकेनन् होला, तर कामै नगरेका त होइनन नि । प्रजातन्त्र स्थापनादेखि संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउँदासम्म त्यसका लागि लडेका योद्दाहरु अझै हुनुहुन्छ । केही नेताहरुले पार्टीभित्र बसेर गल्ती गरेका होलान् त्यस्तालाई पार्टीले कारबाही गरेको छ । पार्टी खडागरी देशमा प्रजातन्त्र स्थापनाका लागि कांग्रेस मात्र नभएर अरु दलका नेताहरु लाग्नुभएकै हो । उहाँहरु निर्दोष हुनुहुन्छ । लोकतन्त्रलाई स्थापित गर्न योगदान गरेका धेरै व्यक्तिहरु यहाँ छन् । केही मानिसको व्यवहारको कारणले पार्टीमा लाग्नेहरुमा नैराश्यता पक्कै आएको छ ।

पार्टीमा पदीय जिम्मेवारीदेखि लाभको पद र अवसरको जिम्मेवारी वितरणमा न्यायोचित नभई नातागोतामा केन्द्रीत भयो । गुटको नाममा नजिकका व्यक्ति भएको नाममा पक्षपातपूर्ण व्यवहार भएको छ । पार्टीभित्र भएका केही मानिसहरुले गलत किसिमले अगाडि हुक लगाएर तानेका कारणले केही नैराश्यता आएको छ । त्यसको विषयमा पार्टीभित्र छलफल भएको छ । कसैलाई पनि यो जा त्यो बहानामा हुक लगाएर तान्न हुँदैन र तान्दाखेरि भोलि त्यसको चुनौती सामना गर्नुपर्छ भन्ने कुरा नेताहरुले बुझेका पनि छन् । अब विस्तारै सबै सुधार भएर जानेछ ।

कसैलाई अन्याय नगर्ने, योगदान क्षताको कदर गरेर अवसर दिने परिपाटी विकसित गराउनुपर्छ र त्यो हुन्छ भन्ने विश्वास दिलाउन चाहन्छु । पुराना पार्टीप्रति केही गरेनन् भन्ने नकारात्मकता फैलिएको छ । तर, यहाँ के बुझ्नु जरुरी छ भने पुराना पार्टीहरुको एक खालको चरित्र छ र त्यो हेर्ने गरिन्छ । नयाँ पार्टीको अहिले चित्र मात्रै हेरिएको छ । उनीहरु अहिले चित्रमा मात्रै केन्द्रित छन् । राम्रो चित्र बनाएर देखाएका छन् । रास्वपाले चित्र देखाएरै हो धेरै ठाउँमा जितेको । तनहुँमा गोविन्द भट्टराईको तुलना अहिलेका विजयी सांसदसँग हुनै सक्दैन । भट्टराईसँग चरित्र, समाजसेवा र योगदान थियो अहिले जितेका सांसद (स्वर्णिम वाग्ले)सँग तीमध्ये कुनै कुरा छैन । इमान्दारीपूर्वक तनहुँको सेवा गरेका मान्छेलाई जनताले भोट दिएनन् र एकजना गफाडीलाई जिताए । अहिले उहाँ ठग र गफाडीको मतियार भएर हिँडेका छन् । गलत चित्र भएकालाई छानेको भनेर जनताले अहिले बुझिसकेका छन् । अबको चुनावमा जनता झुक्किँदैनन् सही व्यक्तिलाई चुन्छन् ।

तपाईं चरित्र र लोकतन्त्रको कुरा गर्नुहुन्छ । देशमा संघीय गणतन्त्र छ तर प्रदेशदेखि केन्द्रको राजनीति अस्थिर अवस्थामा गुज्रिरहेको छ । यस्तो देखेर टिठ लाग्दैन ? यस्तै कुराहरुले जनतामा निराशा बढाइरहेको भन्ने लाग्दैन ?
पक्कै पनि हालको संघीयताको संरचनाले केहीलाई वितृष्णा बढाएको हुनसक्छ । केहीले टिकाटिप्पणी गरेका पनि छन् । संघीयता आफैंमा खराब कुरा होइन । हाम्रो अर्थव्यवस्थाले यसलाई धान्न नसक्ने अवस्था भएको हो । तीनै तहका सरकारमध्ये धेरैको आवाज के सुनिन्छ भने स्थानीय सरकार ठिक छ र काम गरेको छ । कुनै तहका व्यक्तिले बद्मासी गरेकोप्रति टिप्पणी हुने बाहेक स्थानीय सरकारप्रति समग्रमा जनता खुसी छन् । प्रदेश सरकार, मन्त्रीमण्डल र कामबारे जहाँतहीँ टिकाटिप्पणी सुनिन्छ । प्रदेश सरकारलाई तलब, भत्ता खुवाएर गाडी चढाउने पैसा स्थानीय सरकारलाई दिने हो भने स्थानीय सरकारले जनतालाई साथमा लिएर धेरै नै विकासका काम गर्न सक्छन् भन्ने आवाज त उठिरहेकै छ । यो व्यवहारिक अनुभव पनि हो ।

केन्द्रमा पनि समानुपातिक प्रणालीले अवरोध ल्यायो भन्ने आवाज उठिरहेको छ । कुनै पनि दलले बहुमत ल्याउन नसक्दा राजनीतिक अवस्थामा स्थिरता आउन सकेको छैन । त्यसकारण अहिले भइहेको राष्ट्रिय सभालाई समानुपातिक पद्धतिको सभा बनाउने र प्रतिनिधि सभालाई प्रत्यक्ष निर्वाचित बनाएर सरकार बन्न सक्ने र बनाउन सक्ने हो भने राम्रो हुन्छ । राजनीतिक अस्थिरता कम गरी स्थिर सरकार दिन सक्नेगरी काम गर्नुपर्छ । सरकारले काम गर्न नसक्दा पनि निर्वाचित प्रधानमन्त्रीले संसद विघटन गरेर पुनः ताजा जनादेश लिनसक्ने खालको परिस्थिति बनाउनुपर्छ भन्ने सोचको विकास भइरहेको छ । अहिले जेजे कुराहरु संघ, प्रदेशको बारेमा उठेका छन्, यी समसामयिक कुराहरुलाई ढाकछोप नगरेर सबै राजनीतिक दल र सरकारले त्यसलाई बहसमा ल्याउनुपर्छ । र दुई तिहाइ बहुमत पुर्याएर सबैको सहमतिमा संविधान संशोधन गर्नु आवश्यक छ । त्यो भयो भने व्यवस्थाप्रति आक्षेप लगाएर आक्रमण गर्ने र प्रत्येक १०–१५ वर्षको अन्तरालमा व्यवस्था नै फेर्ने परिपाटीको पनि अन्त्य हुन्छ । यो बारे समसामयिक सुधार आवश्यक छ र सबै राजनीतिक दलहरु सचेत हुनुपर्छ । सरकारले यसको नेतृत्व गर्नुपर्छ कांग्रेसले यो विषयलाई सधैं प्राथमिकता दिएको छ ।

कांग्रेसका नेताहरुले सार्वजनिक रुपमै निर्वाचन प्रणालीप्रति रोष पोख्दै आएका छन् । बारम्बार कांग्रेसले निर्वाचन प्रणाली फेर्नुपर्ने बताइरहँदा संविधान संशोधन गर्नुपर्ला । यस्तो अवस्थामा कांग्रेस–एमाले एक भएर संविधान संशोधन होला ?
एमाले र कांग्रेस एक ठाउँमा उभिन कुनै गाह्रो कुरा पनि छैन । सिद्धान्त र विचारमा फरक पार्टी भए पनि इस्युको आधारमा देशलाई आवश्यक पर्दा कांग्रेस–एमाले मात्रै होइन माओवादी र मधेसवादी नयाँ आकर्षण भएका दलहरु सबै एकै ठाउँमा बसेर घनीभूत छलफल गर्नु आवश्यक छ । सिद्धान्तको आधारमा देशको शासन प्रणाली परिवर्तन गर्दा पछि हट्नुपर्छ भन्ने छैन । कांग्रेस र एमाले एकै ठाउँमा बस्न नसक्ने भन्ने कुनै कारण नै देख्दिनँ । अलिअलि तिक्तता कांग्रेस, माओवादी र अन्य दल मिलेर सरकार बनाउँदाको होला । तर, तिक्तता लोभीपापीहरुको खानामा हुन्छ । जो जो मिलेर खाएका थिए खाँदासम्म ती ठिक थिए नि । एक अर्कोसँग सबै मिलेका थिए । ओली र प्रचण्डबीचमा पनि कुनै बेला कटुता थियो अहिले मिलाप छ । गठबन्धनको आवश्यकता राम्रो कुराको लागि थियो तर यहाँ बदमासी गर्ने, ढाकछोप गर्ने र खाने कुरामा निकट हुने साथै चुपचाप रहने प्रवृत्ति छ । गठबन्धन टुटेपछि एकले अर्कालाई दोषारोपण गर्ने प्रवृति नै जनतामा वितृष्णा आउनुको कारण हो । दलहरु मिलेर राम्रो समीकरण बनाएर काम गर्ने हो भने कुनै पनि गठबन्धनसँग बेखुसी हुनुपर्ने कारण छैन ।

तपाईं समीकरण राम्रो कामको लागि जो जसले मिलेर बनाए पनि हुन्छ भन्दै हुनुहुन्छ तर कांग्रेस समीकरणबाट बनेको सरकार ढाल्ने खेलमा छ भनिन्छ । वर्तमान सरकार ढाल्नुपर्ने कुनै कारण छ र ?
त्यो भनेको एउटा नियमित प्रक्रिया हो जस्तो लाग्छ । हाम्रो संसदको संरचना नै त्यस्तै छ । अंक गणितले काम गर्ने भएपछि एउटैको गणित पुग्दैन । बलिया दुई दलको पनि संख्या पुग्दैन । एमाले र कांग्रेसको संख्या पुग्ने भए पनि तत्काल त्यो सम्भावना छैन । यी सबैको प्रयोग एकपछि अर्को भइरहँदा अहिले साना साना दलहरुको भाउ कति बढेको छ हेर्नुहोस् त । रवि लामिछानेको भाउ कहाँ पुग्यो ? निर्मलाको हत्यारा यति दिनमा पत्ता लगाउँछु भनेर उनैले भनेका होइनन्, अहिले सहकारीको रकम ठगीमा मुछिएका छैनन् ? उनले बद्मासी गरेको होइन, छैन भन्दै गर्दा पनि समितिले छानबिन गर्ने दायरामा त ल्यायो नि । यी कुराहरु आफैँ उदाङ्गो भएर बाहिर आउँछन् । तर, आफ्नो अनुकूल समीकरण बनाएर अघि बढ्ने कुरामा कांग्रेस जहिले पनि तयार छ । तर तत्काल सरकार फेरिहाल्ने हिसाबमा कांग्रेस छ भन्ने लाग्दैन । दलहरुको बीचमा छलफल र भेटघाट हुनु स्वाभाविक हो ।

सरकारले बजेट ल्याइसकेको छ । बजेट कार्यान्वयनमा विश्वस्त हुनुहुन्छ ?
पहिलो कुरा त यो पुरानै बजेटको निरन्तरता हो । दोस्रो भनेको बजेटले उद्यमी व्यवसायी कसैलाई पनि आकर्षण दिन सकेको छैन । आश्वस्त गराउन सकेन । मैले त राजनीतिक विचारको आधारमा टिप्पणी गरौंला बजेटमा नराम्रो पक्ष हेरौंला तर आर्थिक क्षेत्रका मानिसहरु धेरै उत्साहित छैनन् । त्यो आर्थिक सूचक ९नेप्से० मार्केटले देखाइरहेको छ । बजेट पुरानै ढर्रामा आएको छ ।

देशमा रोजगारी भएन भनेर युवाहरु विदेशिएका छन् । जुन दलको सरकार आए पनि कुरा मिठा गर्छन तर काम गर्दैनन् । अब युवा पलायन कहिले रोक्ने ?
यो विषयमा अरुभन्दा पनि मैले बारम्बार भन्दै आएको कुरा के हो भने हाम्रो शिक्षा प्रणालीको कारण यस्तो भएको हो । शासन प्रणालीमा फिट हुने खालको शिक्षा प्रणाली छैन । यहाँ काम नभएर मात्रै विदेश गएका हुन् भन्ने म मान्दिन । यहाँ बिल्डिङ बनाएको ठाउँमा हेरौँ त त्यहाँँ इट्टा बोक्ने, टायल बनाउनेदेखि इन्जिनियरसम्म पनि भारतका छन् । घर बनाउँदा आवश्यक पर्ने जनशक्तिको लगभग ९० प्रतिशत बाहिरबाट आएका मान्छेहरुले ओगटेका छन् । अहिले क्यानडा, अस्ट्रेलिया, जापान लगायतका शिक्षामा आकर्षण भएका देशहरुमा देखेको, बुझेको के हो भने हाम्रो शिक्षाले तहगत रुपमा जनशक्ति उत्पादन गर्नुपर्ने थियो । त्यो हाम्रो प्रणालीमा छैन । उच्च शिक्षा नपढेकाले पनि विद्यालय शिक्षा वा तल्लो लेबलमा पढेकाले वा माथिल्लो तहमा पढ्न नपाएकालाई सीपमूलक तालिम पाउने व्यवस्था गर्नुपर्ने थियो । त्यो हामीकहाँ छैन ।

कक्षा एकदेखि मास्टर्स गर्दासम्म विद्यार्थीले पढ्न पाउँछन् । त्यो बीचको समयमा सीप सिकेर केही गरे हुनेथियो । तर मास्टर्स पास गरेपछि रोजगारी पाइन भनेर निराश भएको पाइन्छ । यहाँ अंग्रेजीमा मास्टर्स गरेकाहरु चोर बाटोबाट अमेरिका छिरिरहेका छन् । यो सब हुनुको पछाडि हाम्रो शिक्षा प्रणाली दोषी हो । हामीले कक्षा आठसम्म बेसिक, १२ कक्षा, ब्याचलर र त्यसपछि मास्टर्स पढ्नेहरुलाई उनीहरुको शैक्षिक स्थिति अनुसारको तालिम वा सीपको व्यवस्था गर्न सक्ने शिक्षा प्रणाली अपनाएर शिक्षा दिएको हुन्थ्यौं भने धेरै मानिसहरु नेपालमै रोजगार हुन्थे । हेर्दाखेरी नेपाली बाहिर गए भन्ने छ तर यहाँ फलफूल बेच्नेदेखि लिएर घर बनाउनेसम्मका सबै बाहिरबाटै आएका छन् । हेर्दाखेरी ओहो मान्छे गए भन्छन्, वास्तवमा हाम्रो शिक्षा प्रणालीले यहाँ नेपाली अडिन सक्ने वातावरण बनाएकै छैन । यसमा सबै राजनीतिक दलले पनि शिक्षामै परिवर्तन गर्नुपर्छ । प्रणालीमै सुधार नगरी विदेश पलायन रोक्न सम्भव छैन ।

कांग्रेसको जनसम्पर्क समिति लथालिङ अवस्था देखिन्छन् । यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ ?
नेपालमा लोकतन्त्र पद्धति स्थापना गर्नका लागि भारतमा पहिलो जनसम्पर्क समिति बन्यो । कांग्रेसको जनसम्पर्क समिति ३५–३६ देशमा फैलिएको छ । मलाई लाग्छ विदेशमा रहेका सबै नेपाली कांग्रेसका हुन् । लोकतान्त्रिक मुलुकहरुमा जनसम्पर्क समिति बनेका कारण ती देशका सबै नेपाली कांग्रेस हुन् र लोकतन्त्रवादी हुन् । किनकी जहाँ नेपाली पुगे त्यहाँ पुगेकाहरुले विचार र सिद्धान्त जहाँ भए पनि कांग्रेसको सिफारिसपत्र लिनुभएको छ । तर, अब जनसम्पर्क समितिका सबै देशमा चाँडै अधिवेशन भएर नयाँ चलायमान समिति बन्नेछ । यसका लागि मैले अध्ययन सुरु गरिसकेको छु र १५औँ महाधिवेशन अगावै सबै देशमा अधिवेशन सम्पन्न हुनेछ । –नेपाल न्यूज बैंक

Share This:
सम्बन्धित खबर
Loading...