स्वर्णिम वाग्ले बोल्दा कांग्रेस सांसदको होहल्ला- ‘औचित्यहीन र कर्मकाण्डी विरोधप्रति खेद व्यक्त’

41

काठमाडौँ, १३ जेठ । सांसद स्वर्णिम वाग्लेले संसद्को ओज, गरिमा र उपादेयतालाई असान्दर्भिक बनाउने गतिविधिप्रति खेद प्रकट गर्नुभएको छ ।

आज प्रतिनिधि सभाको बैठकमा विपक्षी नेपाली कांग्रेसले गरेको विरोधप्रति कटाक्ष गर्दै सांसद वाग्लेले बिपी कोइरालाले स्थापित गरेको मानकको अपमान भएको बताउनुभयो । उहाँले त्यो मानकलाई आज यो अवस्थामा पुर्‍याउन भएको यस विरोधमा लज्जास्पद र औचित्यहीन विरोध भनेर टिप्पणी पनि गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘६५ वर्ष अगाडि नेपाली लोकतान्त्रिक आन्दोलनका धरोहर सबैका प्रेरणा मेरो त राजनीतिक आदर्श बिपी कोइरालाले स्थापित गरेको मानकलाई आज यो अवस्थामा पुर्‍याउनलाई, यो लज्जास्पद, औचित्यहिन विरोधप्रति मेरो खेद छ । संसद्को ओज, गरिमा, उपादेयतालाई असान्दर्भिक बनाउने यो कदमप्रति विरोध हो कि समाधान गर्ने हो । ७४ लाख बचतकर्ताहरुलाई राखेर समाधान उन्मुख हुने हो कि व्यक्ति केन्द्रित भएर खराब नजीर बनाउनेतिर नै जाने हो ।’

उहाँले संसदिय छानबिन समिति बनाउनको लागि सहमति भइसकेको भन्दै यो कर्मकान्डी विरोधको कुनै सान्दर्भिकता नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘संसदिय छानबिन समिति बनाउनको लागि सहमति भइसकेको छ । यो कर्मकाण्डी विरोधको कुनै सान्दर्भिकता छैन । यसको लागि म खेद प्रकट गर्छु । हामीले उल्लेख गरेको सुधारका कामलाई बजेटमा ठोस रुप दिने गरी अगाडि बढोस र बढ्छ भन्ने विश्वास छ ।’

यसको साथै, उहाँले १६औँ पञ्चवर्षिय योजनाको बारेमा ठोस कदम अगाडि बढ्ने गरेर यसपालिको बजेट आउनु पर्ने भन्दै नीति तथा कार्यक्रमप्रति पार्टीको पूर्ण समर्थन रहेको जानकारी पनि गराउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...