देशमा भयानक संकटको स्थिति आउनसक्छ : प्रवक्ता सापकोटा

18

काठमाडौँ, १२ जेठ । पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र)का प्रवक्ता अग्निप्रसाद सापकोटाले यतिबेला भू–राजनीतिक परिस्थितिका कारण मुलुकको अवस्था अत्यन्तै जटिल र पेचिलो बनेको बताउनुभएको छ ।

शनिबार काठमाडौँमा आयोजित नेपाल गणतान्त्रिक यातायात व्यवसायी संगठनको दोस्रो अधिवेशनमा उहाँले देशमाथि भयानक संकटको स्थिति आउने अवस्था रहेको भन्दै राष्ट्रियताको हिसाबले सबैले आफूलाई तयार पार्नुपर्ने अवस्था रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘अहिले भू–राजनीतिको अवस्था अत्यन्तै जटिल छ । पेचिलो छ । आज हाम्रो आँगनमा युद्ध हुँदै छ । त्यसकारण राष्ट्रियताको हिसाबले पनि हामीले आफूलाई तयार पार्नुपर्ने बेला आएको छ । आँधी तुफान आउनसक्ने अवस्था छ । देशमा एउटा भयानक संकटको स्थिति आउन सक्छ । त्यसैले हामीले राष्ट्रियताका लागि र जनताको आर्थिक विकासको लागि पनि तयार हुनुपर्छ ।’

उहाँले देशमा समाजवादउन्मुख राज्यव्यवस्था लिपिवद्ध गर्न सफल भएतापनि जनताको जीवनस्तर उकास्नेगरी साँचो अर्थमा अनुभुत गर्ने खालको परिवर्तनलाई संस्थागत गर्न चुकेको बताउनुभयो । विश्व नै दृष्टिविहीन भएको अवस्थामा नेपालमा पनि राष्ट्रिय दृष्टिकोण नबनेको भन्दै उहाँले राष्ट्रिय दृष्टिकोण बनाउन आवश्यक रहेको बताउनुभयो ।

प्रवक्त सापकोटाले नेपालमा वामपन्थीहरु मात्र नभइ सबै कम्युनिस्टहरु एकीकरण भएमा मात्र देशमा विकासले गति लिन सक्ने बताउनुभयो । उहाँले विज्ञान र प्रविधिको प्रयोग गर्न नसके पुरानो ढाँचाले देशको विकास गर्न नसकिने धारणा राख्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...