एमाले अध्यक्ष ओलीमाथि यसरी खनिए दुर्गा प्रसाईं

24

काठमाडौँ, १२ जेठ । व्यवसायी दुर्गा प्रसाईंले एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय युवा संघका इन्चार्ज महेश बस्नेत मिलेर आफूलाई ज्यान मार्ने उद्योगमा फसाउने ‘मास्टर प्लान’ बनाएको आरोप लगाउनुभएको छ ।

एमालेको भ्रातृसंस्था राष्ट्रिय युवा संघ नेपालकी केन्द्रीय सदस्य समेत रहनुभएकी दुर्गा पाठकलाई अध्यक्ष ओली र बस्नेतको मिलोमतोमा आफूविरुद्ध उकासेर भिडिओ बनाउन लगाएर फसाउन खोजिएको प्रसाईको दाबी छ ।

शनिबार पत्रकार सम्मेलनमा प्रसाईंले आफूविरुद्ध सिंगो एमाले लागेको आरोपमात्र लगाएनन् युवा संघका इन्चार्ज बस्नेत मुछिएको यौन हिंसा प्रकरणमा आफूलाई फसाउनकै लागि दुर्गा पाठकलाई भिडिओ बनाउन लगाएको बताउनुभएको छ ।

‘म मंसिर सात गते आन्दोलन गरिसकेपछि आफ्नो बाटोमा हिँडेको थिएँ । तर, बीचमा महेश बस्नेत, केपी ओली र एमालेको डिजाइनमा ठुलो षड्यन्त्र बनाएका रहेछन्,’ उहाँले भन्नुभयो, ‘दुर्गा पाठकलाई बस्नेतका कार्यकर्ताले पीडितलाई मरे भने दुर्गा प्रसाईं र सरकारले जिम्मेवारी लिनुपर्छ भनेर भिडिओ खिचेको रहेछ । यो गर्न खोजेको के हो ? केपी ओली र शंकर पोखरेलहरुले राजनीतिक प्रशिक्षण दिँदा एमाले पार्टी कार्यकर्तालाई यस्तै सिकाउँछन् ? उहाँलाई भिडिओ बनाउन लगाएर दिनैपिच्छे मार्न खोज्दा रहेछन् । उहाँ मरेपछि म फसे नि त, मलाई फसाउन यत्रो षड्यन्त्र गर्नुपर्ने ?’

पाठकलाई अब सुरक्षा आफूले दिने घोषणा गरेका प्रसाईंले ओली, बस्नेत र सिंगो एमालेलाई आफूसँग नठोकिन चेतावनी दिनुभयो ।

आफूले भिडिओ पाएपछि प्रहरी महानिरीक्षकलाई समेत पठाएको चर्चा गर्दै प्रसाईंले ओलीलाई कार्यकर्तालाई सम्झाउन सुझाव दिनुभयो । नभए ओली महेश बस्नेत, निर्भयबाबु प्रसाई, बब्लु गुप्ताविरुद्ध मुद्दा हाल्ने चेतावनी पनि दिनुभयो ।

यस्तै, पीडित भनिएकी युवा संघ नेपालकी केन्द्रीय सदस्य दुर्गा पाठकले आफूलाई महेश बस्नेतले शोषण गरेको दाबी गर्नुभएको छ । उहाँले पछिल्लो समय बस्नेत र उहाँको सम्बन्ध बाहिर आएपछि प्रसाईंलाई फसाउन आफूलाई धम्क्याएर बस्नेतका मान्छेले भिडिओ बनाएको र त्यसकै आधारमा ब्ल्याकमेल गरेको बताउनुभयो ।

पत्रकार सम्मेलनमा उपस्थित पाठकले भन्नुभयो, ‘म यहाँ आज आउनुको कारण भनेको दुर्गा दाई नफसुन् भनेर नै हो । म आफैँ संवेदनशील अवस्थामा छु र यिनीहरु सबै मिलेर मलाई मार्न खोजिरहेका छन् ।’

पाठकले थप्नुभयो, ‘केही समय अगाडि महेश बस्नेत र नवीन बस्नेत मिलेर पेप्सिकोलाको कोरिडोरमा एउटा डिपार्टमेन्ट स्टोर छ त्यहाँ बोलाएर मलाई चिट लेखेर दिए र मलाई बोल्न लगाएर भिडिओ बनाए । महेश बस्नेतसँगको सम्बन्ध मेरो केही पनि होइन, यो सबै फोटोहरु एआईबाट बनाइएको हो र म मरे भनेँ दुर्गा प्रसाईं र नेपाल सरकारले जिम्मा लिनुपर्नेछ भनेर बोल्न लगाइयो । आफूलाई मार्छन् भन्ने डरले बाध्य भएर भिडिओमा मैले बोलेको हो ।’

पाठकले बब्लु गुप्ता भन्ने व्यक्तिले भिडिओ बनाएको दाबी गर्नुभएको छ । पछिल्लो समय मिडियामा पनि जानुभएकी उहाँ प्रहरीले आफूलाई बस्नेतको पावरकै कारण सहयोग नगरेको आरोप लगाउनुभएको छ ।

प्रसाईंले सहकारी ठगीमा सबैभन्दा धेरै एमालेका मान्छे रहेकाले एमाले छानबिन गर्न डराएको आरोप लगाउनुभयो ।

प्रसाईंले भन्नुभयो, ‘सहकारीमा रास्वपा भनेको २ प्रतिशत हो, ३३ प्रतिशत कांग्रेस र ७० प्रतिशत सहकारीमा ठग्ने एमाले हो । किन आज सहकारीको छानबिन हुँदैन भन्दा एमालेले हुन दिँदैन । जिबी राई एमालेको मान्छे हो । सिबी लामा भनेको कांग्रेसको मान्छे हो, उसले संसद्मा टिकट दिन लागेको मान्छे हो । सबै पार्टीभित्रका मान्छे मिलेर सहकारीको पैसा लुटेर खाए । ’

Share This:
सम्बन्धित खबर
Loading...