काठमाडौँ, ११ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान अवस्थामा तीनै तहका सरकार, संवैधानिक अंग र निकायहरु भ्रष्टाचारले आक्रान्त भएको टिप्पणी गर्नुभएको छ ।
राप्रपाको केन्द्रीय कार्य समितिको बैठकमा उहाँले भ्रष्टाचार सबैभन्दा सजिलो व्यवसायको रुपमा विकसित हुँदै आएको भन्दै सत्ता शक्तिको फाइदा उठाएर भ्रष्टाचार अनुकूल कानुन निर्माण गर्ने तहसम्म पुगेको बताउनुभयो ।
उहाँलो भन्नुभयो, ‘भ्रष्टाचारमुक्त, सुशासनयुक्त शासन अहिले तीनै तहका सरकार, संवैधानिक अंग र निकायहरु भ्रष्टाचारले आक्रान्त छ । खासगरी २०४६ सालको राजनीतिक परिवर्तनपछि अनेक रुप र स्वरुपमा भ्रष्टाचार सबैभन्दा सजिलो व्यवसायको रुपमा विकसित हुँदै आएको छ । भ्रष्टाचार सामान्य लिने दिने, कुरामा मात्र सीमित छैन । संगठित रुपमा ऐन कानुनको फाइदा लिने, सत्ता शक्तिको फाइदा उठाएर भ्रष्टाचार अनुकूल ऐन कानून नै निर्माण गर्ने तहसम्म पुगेको छ ।’
यस्तै, उहाँले न्यायालय तथा संवैधानिक अंगहरुमा दलकै सिफारिसमा नियुक्त मानिस भएको भन्दै भ्रष्टाचार र भ्रष्टाचारीका विरुद्ध दृढ रुपमा उभिन राप्रपाले अठोट गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘मुलुकमा भ्रष्टाचार संस्थागत जस्तै भएको छ । सबैजसो मुख्य राजनीतिक दलहरुको सबैजसो सदस्यहरुको भ्रष्टाचारमा संलग्नता छ । न्यायालय तथा संवैधानिक अंगहरुमा दलकै सिफारिसमा नियुक्त मानिसहरु भएका कारण भ्रष्टाचारीहरु पूर्ण रुपमा कम हुने सम्भावना न्यून छ । त्यसकारण भ्रष्टाचार र भ्रष्टाचारीका विरुद्ध दृढ रुपमा उभिन राप्रपाले अठोट गरेको छ ।’
सत्ता स्वार्थमा बसेर दलहरुले गर्ने क्रियाकलापले विश्व समुदायमा नेपालको विश्वसनियता कमजोर बन्दै गएको भन्दै वैदेशिक सम्बन्धमा दल र सत्ता होइन, देश हुनुपर्ने पनि उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘नेपालमा वैदेशिक हस्तक्षेप र चलखेल व्यापक रुपमा बढेको छ । सत्ता स्वार्थका लागि जोसँग जस्तो पनि सम्बन्ध राख्ने प्रवृत्तिका कारण विश्व समुदायमा नेपालको विश्वसनियता कमजोर बन्दै गएको छ । सत्ता पक्ष र प्रमुख दलहरुको क्रियाकलापका कारण बिग्रिने सम्बन्ध र भोग्नु पर्ने क्षति केवल ती दलहरुले मात्र होइन सबै नेपाली जनताले हो । त्यसकारण वैदेशिक सम्बन्धमा दल र सत्ता होइन, केन्द्रमा देश हुनुपर्छ ।’