राजनीतिक अस्थिरताका कारण विकास निर्माणले गति लिन सकेन : मन्त्री शर्मा

8

काठमाडौँ, १० जेठ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकमा राजनीतिक अस्थिरता पैदा भएको कारण विकास निर्माणका कामले गति लिन नसकेको बताउनुभएको छ ।

बिहीबार काठमाडौँमा राष्ट्रिय समाचार समितिद्वारा आयोजित ‘गणतन्त्रको उपलब्धि समृद्धिका लागि पूर्वाधार’ विषयक तस्बिर प्रदर्शनीको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले अरु देशमा १०–१५ वर्ष एउटै पार्टीले सत्ता सञ्चालन गर्ने तर नेपालमा बढीमा एक–दुई वर्ष सत्ता टिक्ने कारणले विकास निर्माणका काम तिव्र गतिमा हुन नसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले अरु छिमेकी देहलाई हेर्ने हो भने अहिले दुई वटा देशमा निर्वाचन हुँदैछ । इन्डियामा १० –१५ वर्ष एउटै पार्टीले सत्ता सञ्चालन गर्ने गर्दछ । चीन हेर्ने हो भने त्यस्तै छ । हाम्रोमा ६ महिना, ८ महिना बढिमा एक–दुई वर्षका सरकारले जसरी कामको पहल कदमी लिइरहेका छन्, गणतन्त्रमा यो नै ठुलो कुरा हो । हाम्रो राजनीतिक अस्थिरता शासकिय स्वरुपमा समस्या निर्वाचण प्रणालीमा गर्नुपर्ने समिक्षाको कारणले राजनीतिक अस्थिरता पैदा भएको छ । त्यसले विकास निर्माण तीव्र गतिमा हुन सकेको छैन ।’

उहाँले सार्वजनिक खरिद ऐनमा नै समस्या रहेको भन्दै यसको समाधान चाँडै गर्नुपर्ने बताउनुभयो । समयमा काम सम्पन्न नगर्नेलाई सरकारले कानुनको दायरामा ल्याउनुपर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘अहिले समयमा विकासको काम भएका छैनन् । केही जटिलताहरु पनि देखिएका छन् । हाम्रो सार्वजनिक खरिद ऐनमा नै समस्या छ । त्यो कारणले समयमा काम नहुने समयमा काम नगरेकालाई सरकारले कानुनको दायरामा ल्याउन सकेको छैन् । यस्तो अवस्था सृजना भएको छ । तर हिजो भन्दा आज जनताले ढिलोहुँदा पनि खबरदारी गर्न पाइरहेका छन् ।’

राससले केन्द्रीय कार्यालय, भद्रकालीमा गणतन्त्र दिवसका सन्दर्भमा ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ शीर्षकमा गरेको तस्बिर प्रदर्शनीमा मुलुकका तीनवटै तहका सरकारले आफ्नो सीप, जनशक्ति र पुँजी तथा छिमेकीका साथै अन्य मित्रराष्ट्रसमेतका सहायतामा निर्मित एवं निर्माणाधीन राष्ट्रिय तथा प्रादेशिक गौरवका आयोजनाका तस्बिर समावेश छन् ।

प्रदर्शनीमा ऊर्जा, विमानस्थन, पर्यटन, बाटोघाटो, सडक, पुल, स्वास्थ्य शिक्षाका संरचना, सम्पदा पुनःनिर्माण, तराईका हुलाकी मार्ग, मूलपानी क्रिकेट मैदान, काठमाडौँ–मधेस द्रुतमार्ग, थानकोट–नागढुङ्गा सुरुङमार्ग, सुनकोसी–मरिन डाइभर्सन बहुद्देश्यीय आयोजना, एकीकृत वस्ती, राष्ट्रिय गौरव, प्रदेश गौरवका आयोजनालगायतका तस्बिर समावेश गरिएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...