विराटनगर, १० जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा सांसद डा.शेखर कोइरालाले सरकार अधिनायवादतर्फउन्मुख रहेको टिप्पणी गर्नुभएको छ ।
नेता कोइरालाले सहकारी ठगी काण्ड लुकाउने र संरक्षण गर्ने कार्य कुनै हालतमा सैह्य नहुने चेतावनी दिँदै कांग्रेसले यो विषयमा सदन र सडक दुवैतर्फ दबाब बढाउने बताउनुभयो ।
नेपाल प्रेस युनियनको ३३औँ स्थापना दिवसको अवसरमा प्रेस युनियन कोशी प्रदेशले बिहीबार विराटनगरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
नेता कोइरालाले गृहमन्त्री रवि लामिछानेका दुईवटा राहदानी र नागरिकताका विषयमा पनि छानबिन हुनुपर्ने माग अघि सार्नुभएको छ । उहाँले सहकारी ठगी प्रकरणमात्रै नभएर पासपोर्ट र नागरिकताका विषयमा पनि गृहमन्त्री लामिछानेमाथि छानबिनको माग गर्नुभयो ।
कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल, युनियनका कोशी प्रदेश अध्यक्ष मिनकुमार नवोदितलगायतले सम्बोधन गर्नुभएको थियो ।