काठमाडौँ, २४ वैशाख । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले नेकपा राष्ट्रिय एकता अभियानका अध्यक्ष वामदेव गौतमको एकताको भावनालाई आफूले सकारात्मक रुपामा लिएको बताउनुभएको छ ।
ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा सोमबार आयोजित वरिष्ठ राजनीतिज्ञ सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ विमोचन कार्यक्रममा गौतमले आफू एमालेमा आत्मालोचनासहित फर्किन तयार रहेको बताएपछि अध्यक्ष ओलीले ‘चाहनालाई सकारात्मक रुपमा लिएको’ मात्रै बताउनुभयो ।
‘वामदेव कमरेडले कतिपय कुरा उठाउनुभएको छ । अहिले छलफल गर्ने यो थलो उपयुक्त होइन,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘त्यसमा प्रवेश गर्दिनँ । पछि छलफल गर्छौँ ।’ माओवादीसँग नजिक र आफ्नै दलको शीर्ष नेतृत्वसँगको मतभेदका कारण गौतम विगतमा एमालेबाट अलग भएका नेता हुन् ।
गौतमले राखेको विचार सकारात्मक भएको उल्लेख गर्दै ओलीले भन्नुभयो, ‘वामदेवजीको अहिले एकताको जुन अभिव्यक्ति र भावना आएको छ, त्यो सकारात्मक एकताको भावना हो । यस भावनालाई अगाढि बढाऔँ, महाअभियान सफल होस् । मेरो शुभकामना छ ।’
ओलीले पार्टीले सही बाटो समातेको भन्दै नेतृत्वले गल्ती गरे सच्याएर अघि बढ्ने समेत चर्चा गर्नुभयो । उहाँले एमालेलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा स्थापित गर्न गराउन वामपन्थीहरूलाई पार्टीमा आउन आह्वान गर्नुभयो ।
तर, नेकपा एकता राष्ट्रिय अभियानका संयोजक गौतमले पार्टीमा आउन राखेको चाहनाबारे भने उहाँले उपयुक्त स्थानमा पछि छलफल गर्ने जबाफ दिनुभयो ।