बामदेव गौतमलाई एमालेमा जान हतारो, ओलीलाई भने– पार्टी फुटाउँदिन शंका नगर्नु

34

काठमाडौँ, २४ वैशाख । नेकपा राष्ट्रिय एकता अभियानका अध्यक्ष बामदेव गौतमले आफू एमालेमै जान चाहेको भन्दै अध्यक्ष केपी शर्मा ओलीलाई बामदेवले एमाले फुटाउँछ भनेर शंका नगर्न आग्रह गर्नुभएको छ ।

सोमबार राजनीतिज्ञ सिद्धिनाथ ज्ञवालीको स्मृति ग्रन्थ विमोचन कार्यक्रममा एकै मञ्चमा रहनुभएका ओलीलाई नेता गौतमले आफूले पहिला पनि पार्टी नफुटाएको र अब पनि पार्टी फुटाउला कि भनेर आफूमाथि शंका नगर्न ओलीलाई आग्रह गर्नुभयो ।

उहाँले पछिल्लो पटक पार्टी फुट्दा आफ्नो पनि कमजोरी भएको स्वीकार गर्दै त्यसको आत्मआलोचना गरेको भन्दै पार्टी एमाले फुटाउन आफ्नो हात नभएको दाबी गर्नुभयो ।

‘मान्छेबाट गल्ती कमजोरी हुन्छन मबाट पनि भयो र मैले त्यो महसुस गरेँ । पछिल्लो पटक दुईवटा अध्यक्ष दुईतिर भएको बेला मलाई चित्त दुख्यो, म कतैतिर पनि लागिन । तर, दुवैतर्फका अध्यक्षले अहिले पनि पार्टी फुटाउने बामदेव हो भने,’ उहाँले थन्नुभयो, ‘फुटेर जाने को छ, मिलाउनको निम्ति एउटा फोरम मैले बनाए केही जनदबाब दिन सकिन्छ कि, केही हुन्छ कि भनेर मलाई कसैले साथ दिएनन्, एक्लै के गर्नु ?’

बामदेवले ०५४ सालमा पनि आफूले पार्टी नफुटाएको चर्चा गर्नुभयो । उहाँले पार्टीले निष्काशन गरेपछि कुनै उपाए नलागेर अर्को पार्टी बनाएको र त्यसमा आफू गलत भएको आत्मआलोचना गरी फर्किएको भन्दै अहिले नेकपा (एमाले) फुटाउनुमा आफ्नो कुनै हात नभएको स्पष्ट पार्नुभयो ।

उहाँले एमाले फुटिसकेपछि ८ महिना पहिल्यै आफूले आत्मआलोचना गरी एमालेमै फर्किन चाहे पनि अध्यक्ष ओलीले शंका गरेको भन्दै थप्नुभयो, ‘मैले अध्यक्षलाई ८ महिना पहिला नै भनेको थिए, मलाई कमाण्डर बनाउनु भयो भने फेरि त्यस्तै हुन्छ कि, धेरै समर्थक आए भने फेरि पार्टी फुटाइदिने हो कि बामदेवले भनेर डर लाग्छ भने मसँगै अर्को कसैलाई निगरानी गर्न राखिदिनुहोस् ।’

गौतमले सँगै मञ्चमा आसिन ओलीलाई लक्षित गरेर एमालेमा फर्किन चाहनुमा कुनै स्वार्थ नभएको र आफूले एमालेको हित र पार्टीमा जीवन छउन्जेल क्रियाशील हुन चाहेको भन्दै थप्नुभयो, ‘ त्यसै बामदेव गौतम भएको होइन, मलाई नमर्दासम्म प्रयोग गर्नुहोस् न । के गर्नुहुन्छ हेर्दै जाउँ, नमर्दासम्म मैले काम गरिरहन पर्छ, मरेपछि हँसिया हथौडाको झन्डा ओड्न पाउनुपर्छ । मेरो चाहना यत्ति हो ।’

उहाँले एमालेमा जान हतारो गर्दै भन्नुभयो, ‘मलाई सुनिदिनुभयो विचार मन्थन गर्नुहोला र कम्रेड केपी ओलीलाई छिटोभन्दा छिटो एमालेमा ल्याउ भन्नुहोला ।’

Share This:
सम्बन्धित खबर
Loading...