मोबाइलमा चर्को बोल्दा हत्या, घटनाको ९ वर्षपछि अभियुक्त पक्राउ

9

काठमाडौँ, १६ वैशाख । राति फोनमा ठुलो स्वरमा बोलेको भन्दै आफ्नै फुपुकी छोरीको हत्या गरी फरार रहेका म्याग्दीको तत्कालीन कुहु गाविस–५ का समरबहादुर सार्कीलाई प्रहरीले नौ वर्षपछि पक्राउ गरेको छ ।

२३ वर्षीया सुनमाया किसान (सार्की)को हत्या गरी फरार समरलाई पक्राउ गरी उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार सार्वजनिक गरेको हो ।

सुनमाया मामासँग काठमाडौँको तत्कालीन सेतीदेवी गाविस–३ तौथलीस्थित कुष्ठरोग आरोग्य आश्रममा बस्दै आएकी थिइन् । १ कात्तिक २०७० कात्तिक १ मा उनी आश्रमकै शौचालयभित्र मृत भेटिएकी थिइन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार घटना अनुसन्धान गर्दा काठमाडौँमा ज्यामी काम गर्ने समरबहादुर बाबुलाई भेट्न आश्रम जाने गरेको खुल्यो । २०७१ असोज ३१ गते बेलुका बाबु बाहिर गएका कारण कोठामा समर र सुनमाया मात्र थिए ।

दुवै जनाले बेलुकाको खाना खाएपश्चात सुतिसकेपछि सुनमायाले मोबाइलमा कुराकानी गर्दा समरले ‘ठुलो स्वरमा कुरा नगर, म थाकेर आएको छु सुत्नदेउ’ भन्दै मोबाइल फाल्दा विवाद बढेको बताइएको छ ।

विवाद बढ्दै जाँदा सुनमायाले समरलाई हँसियाले प्रहार गरेकी थिइन् । घटनामा समरको बुढी औँलामा चोट लागेको थियो । उक्त हँसिया खोस्दा हातमा टोकेपछि समरले सुनमायाको टाउकोमा हिर्काए । सुनमाया बेहोस भइन् । लामो समयसम्म पनि होसमा नआएपछि घाँटी थिची मारेर शव नजिकैको शौचालयमा पुर्‍याएर समर भागेको खुलेको उपत्यका अपराध अनुसन्धान कार्यालयकी डिएसपी सुरक्षा केसीले बताउनुभयो ।

सुनमायाको हत्यापश्चात् समर भारततर्फ भागेका थिए । केही दिनअघि तौथलीमा बाबुलाई भेट्न आउँदा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीमाथि कारबाहीका लागि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...