किशोरीलाई वेश्यावृतिमा लगाएको अभियोगमा दुई महिला पक्राउ

7

काठमाडौँ, ५ वैशाख । किशोरीलाई वेश्यावृतिमा लगाएको अभियोगमा दुई जना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँको चाबहिलमा फ्रेण्डसिप ब्युटी एण्ड स्पा सञ्चालन गर्दै आएकी झापाको झापा गाउँपालिका–१ की ३४ वर्षीया पूजा लोवा र काठमाडौँ–७ गंगाहिटी बस्ने चितवनको वीरेन्द्रनगरकी ४३ वर्षीया पूजा मगर भनिने ओमकुमारी पुन छन् ।

मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलबाट खटिएको टोलीले लोवालाई चावहिल र पुनलाई ज्ञानेश्वरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । साथै पीडित किशोरीलाई उद्धार गरी हाल सुरक्षित आवासमा राखिएको छ ।

प्रहरीका अनुसार नाबालिकालाई वेटरको काममा लगाइदिने भनि ओमकुमारीले पूर्वी नवलपरासीको एक रेष्टुरेन्टमा पठाएकी थिइन् । रेष्टुरेन्ट सञ्चालकले ललाइफकाई तथा धाकधम्की दिई वेश्यावृत्तिमा लगाए । त्यसको केही समयपछि ती किशोरीलाई काठमाडौँ ल्याएर लोवाले आफ्नो चाबहिलस्थित ब्युटी एण्ड स्पामा काममा मात्र लगाइनन्, विभिन्न प्रलोभनमा पारी वेश्यावृत्तिमा लगाएको अनुसन्धानमा खुल्न आएको जनाइएको छ ।

साथै ओम कुमारीले ती किशोरीलाई राति ग्राहकहरूको अनुरोधमा विभिन्न होटल तथा गेष्ट हाउसहरूमा ‘पठाओ’ प्रयोग गरि पठाई वेश्यावृत्तिमा समेत लगाउने गरेको पनि खुल्न आएपछि प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका दुवैविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट ५ दिन हिरासत म्याद अनुमति लिइ आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...