अमेरिका पठाइदिन्छु भनी ६४ लाख ठगी गर्ने व्यक्ति पक्राउ

46

काठमाडौँ, २१ मङ्सिर । वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु भनी ६४ लाख ४५ हजार रूपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलाली टिकापुर नगरपालिका–१ स्थायी घर भइ हाल काठमाडौँ महाननगरपालिका–३२ कोटेश्वर बस्ने ३२ वर्षीय रमेश न्यौपाने रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेका रमेश न्यौपानेले गणेश अधिकारीसहित ५ जनालाई वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिने, अमेरिका पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिने र मासिक ३ लाख तलब हुन्छ भनी विश्वास दिलाइ प्रलोभनमा पारी पीडितहरूबाट पटक–पटक गरी जम्मा ६४ लाख ४५ हजार रूपैयाँ रकम लिइ सम्पर्कविहीन भइ ठगी गरेको उजुरीका आधारमा बिहीबार काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका रमेश न्यौपानेलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता रेग्मीले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...