वेश्यावृत्तिमा लगाउने स्पा सेन्टर सञ्चालक पक्राउ

194

काठमाडौँ, १२ मंसिर । रोजगारीको प्रलोभन देखाइ वेश्यावृत्तिमा लगाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–९ रातोपुलस्थित नुवाकोट ब्युटी पार्लर एन्ड स्पा सेन्टरका सञ्चालक सङ्खुवासभा चिचिला गाउँपालिका–१ घर भएका ४३ वर्षीय दिनेश पौडेललाई आइतबार प्रहरीले पक्राउ गरेको हो । साथै सेन्टरबाट २ नाबालिका र एक युवतीलाई प्रहरीले उद्धार गरेको छ ।

स्पा सेन्टरमा काम गर्ने युवतीहरूलाई जबरजस्ती वेश्यावृत्तिमा लगाइ यौन शोषण गर्ने गरेको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलबाट खटिएको प्रहरी पौडेललाई पक्राउ गरेको हो ।

युवतीहरूलाई आकर्षक तलब सुविधा दिने प्रलोभनमा पारी स्पा सेन्टरमा बोलाउने गरेको, मसाजका साथै शारीरिक सम्पर्क राख्न दबाब दिने गरेको र पौडेलले भने अनुसारको काम गर्न नमानेमा शारीरिक तथा मानसिक यातना दिनुको साथै अश्लिल फोटो तथा भिडिओ सामाजिक सञ्जालमार्फत् आफन्तलाई पठाइदिने जस्ता डर त्रासमा पार्ने गरेको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ । रातोपुल र एयरपोर्ट नजिकै रहेका पौडेलका २ वटा स्पा सेन्टरमा काम गर्ने युवतीलाई आलोपालो एक ठाउँबाट अर्को ठाउँमा पठाउने गरेको प्रहरीको भनाइ छ ।

पौडेललाई काठमाडौँ जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिइ मानव बेचबिखन तथा ओसारपससार मुद्दामा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...