नक्कली नोटसहित ३ जना पक्राउ

21

काठमाडौँ, २६ कात्तिक । नक्कलीजस्तो देखिने नोटसहित काठमाडौँबाट एक र पर्साबाट २ गरी तीन जना पक्राउ परेका छन् ।

उनीहरूमध्ये काठमाडौँ महानगरपालिका-९ पिङगलास्थानबाट एक हजार दरका ४ थान नक्कलीजस्तो देखिने नोटसहित काठमाडौँ महानगरपालिका जडीबुटी बस्ने धनुषा घर भएका १८ वर्षीय किशोरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ती किशोरले नक्कली नोट बोकी हिँडेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनलाई उक्त नोटसहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी पर्सा वीरगञ्ज महानगरपालिका-८ घन्टाघरबाट एक हजार दरका ३८ थान नक्कलीजस्तो देखिने नोटसहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा कलैया उपमहानगरपालिका ३ बस्ने २५ वर्षीय उमेश कुमार पटेल र वीरगञ्ज महानगरपालिका-३१ कोनिया बस्ने २३ वर्षीय ऋषि पटेल रहेका छन् ।

घन्टाघरस्थित सिटी मार्केटमा कपडा पसलमा कपडा किन्दा उमेशले नक्कली रूपैयाँ दिएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट घन्टाघरबाट खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो ।

उनीहरूले प्रयोग गरेको प्र२ ०३ ००१प ८९० नम्बरको मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...