मोरङ, २५ कात्तिक । मोरङको विराटनगर महानगरपालिका-१५ बाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर र औषधिसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङको केराबारी गाउँपालिका-६ का ३२ वर्षीय भक्त बहादुर तामाङ र लेटाङ नगरपालिका-३ का २८ वर्षीय कुमार लिम्बू रहेका छन् ।
शुक्रबार दिउँसो इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्री तामाङको साथबाट ११ मिलिग्राम ब्राउनसुगर र लिम्बूको साथबाट डाइजोपाम, लुपिजेशिक, एभिल र फेनारागन समेत गरी २० एम्पुल प्रतिबन्धित औषधि बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रतिबन्धित लागुऔषधसहित पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको छ ।