नक्कली कागजात बनाउने ४ जना पक्राउ

47

काठमाडौँ, १९ कात्तिक । विदेश जान आवश्यक पर्ने श्रम स्वीकृतिलगायतका नक्कली कागजात बनाउने कार्यमा संलग्न रहेको अभियोगमा पक्राउ परेकालाई प्रहरीले आज सार्वजनिक गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयलको टोलीले पक्राउ गरेका ४ जनालाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । उनीहरूलाई टोखा र स्वयम्भूमा सञ्चालित कारखानामा छापा मारी पक्राउ गरिएको जानकारी प्रहरीले दिएको छ ।

नवलपुर मध्यविन्दु नगरपालिका–५ घर भएका ४५ वर्षीय जयराम श्रेष्ठ, गोरखा सिरान चोक गाउँपालिका–८ घर भइ हाल टोखा बस्ने ३४ वर्षीय भक्त बहादुर थापा, काठमाडौँ महानगरपालिका–१ नक्साल बस्ने ३८ वर्षीय दीपक केसी र सल्यान रामपुर कालिमाटी गाउँपालिका–३ घर भइ हाल काठमाडौँ नागार्जुन नगरपालिका–३ इचङ्गुनारायण बस्ने ४२ वर्षीय वर्षीय बल बहादुर रावत रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) गोविन्द पन्थीले जानकारी दिए ।

डिएसपी पन्थीका अनुसार विदेश जान लागेका व्यक्तिका कागजात शंकास्पद रहेको भनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कात्तिक १२ गते पठाइएका कागजातमध्ये सुजल हेङगजुको नामको श्रम स्वीकृति नक्कली देखिएकामा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उक्त कागजात बनाउने कार्यमा संलग्न रहेको अभियोगमा पक्राउ गरिएको थियो ।

हालसम्म ९ जनालाई प्रहरी पक्राउ गरेको जानकारी पनि दिइएको छ । उनीहरूमध्ये सल्यान घर भएका बल बहादुर रावतले टोखामा फ्ल्याट भाडामा लिएर कारखाना सञ्चालन गरेको पाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीले जानकारी दिए ।

प्रवक्ता रेग्मीका अनुसार स्वयम्भूमा दीपक केसीले प्लस टुको नक्कली कागजात बनाउने कारखाना नै सञ्चालन गरेका थिए । उनीहरूले प्रहरी रिपोर्ट, श्रम स्वीकृति, प्लस टुको सर्टिफिकेट र नाता प्रमाणिकरण पनि नक्कली बनाउने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको प्रवक्ता रेग्मीले बताए ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी नायब उपरीक्षक पन्थी नेतृत्वको टोलीले लामो अनुसन्धानपछि उनीहरूलाई पक्राउ गर्न सफल भएको बताइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...