श्रम स्वीकृतिका लागि नक्कली कागजात बनाउने २ जना पक्राउ

24

काठमाडौँ, १६ कात्तिक । श्रम स्वीकृतिलगायत वैदेशिक रोजगारीका लागि नक्कली कागजात बनाउने २ जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गोरखा बारपाक सुलिकोट–४ घर भइ हाल काठमाडौँ बनस्थली बस्ने २३ वर्षीय अजित फेवाली र सोही ठाउँमा घर भइ हाल काठमाडौँको नागार्जुना–१ रानीवन बस्ने २१ वर्षीय विपिन ढकाल रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) मिलन केसीले जानकारी दिए ।

उनका अनुसार भिजिट भिसामा विदेश जान लागेका व्यक्ति शंकास्पद रहेको भनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पठाइएका कागजातमध्ये सुजल हेङगुजको नाममा रहेको श्रम स्वीकृति नक्कली देखिएको थियो ।

उक्त कागजात बनाउने फेवाली र ढकाल रहेको अनुसन्धानबाट खुल्न आएकाले उनीहरूलाई पक्राउ गरिएको एसपी केसीले बताए । उनीहरूलाई काठमाडौँ–१३ मा घर भाडा लिइ वैदेशिक रोजगारीसम्बन्धी काम गर्ने ट्राभल्सबाट पक्राउ गरिएको थियो ।

उक्त ट्राभल्सको खानतलासी गर्दा ढकाल र फेवालीको मोबाइल एक–एक थानलगायत अन्य सामग्री बरामद गरिएको प्रवक्ता केसीले बताए ।

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त कालीमाटी पठाइएको उनले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...