भन्सार छली सुनको कारोबार गर्ने ५ जना पक्राउ

30

काठमाडौँ, १४ कात्तिक । भन्सार छली गरी सुनको कारोबार गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भोजपुर साल्पासिलिछो गाउँपालिका–४ बस्ने २४ वर्षीय अमृतधन राई, सुनसरी इनरूवा नगरपालिका–९ बस्ने ४४ वर्षीय नजिर मन्सुर, धनुषा हंसपुर नगरपालिका–९ बस्ने ४९ वर्षीय कारीइसार केवट, खोटाङ रूपाकोट मजुवागढी नगरपालिका–१५ बस्ने २८ वर्षीय अर्जुन भट्टराई तथा गोरखा गण्डकी गाउँपालिका–२ घर भइ हाल काठमाडौँ महानगरपालिका–६ बालाजु बस्ने ३० वर्षीय अनिष थापा रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीले जानकारी दिए ।

उनका अनुसार कतार एयरको उडानमार्फत् नेपाल आउने केही व्यक्तिहरूले भन्सार छली गरी सुन ल्याइ कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा काठमाडौँको सिनामंगलबाट उनीहरूलाई आइतबार पक्राउ गरिएको हो ।

उनीहरूको साथबाट प्रहरीले २६ लाख ५१ हजार ८५०.४६ मूल्य बराबरको तीन थान सुनको ढिक्का (जम्मा तौल २१४.३६ ग्राम), तीन थान सुनका सिक्री (जम्मा ५०.०१ ग्राम) र नगद १ लाख १० हजार बरामद गरेको थियो ।

उनीहरूलाई भन्सार ऐन, २०६४ अन्तर्गतको कसुरमा आवश्यक अनुसन्धान कारबाहीका लागि सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचर पठाइएको प्रवक्ता रेग्मीले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...