काठमाडौँ, ६ कात्तिक । एकदिवसीय विश्वकपमा भारतले न्युजिल्यान्डलाई ४ विकेटले पराजित गरेको छ । विश्वकपमा भारतले न्युजिल्यान्डलाई २० वर्षपछि पराजित गर्न सफल भएको हो । पछिल्लो पटक भारतले सन् २००३ को विश्वकपमा न्युजिल्यान्डलाई हराएको थियो ।
भारतको जितमा फेरि एक पटक विराट कोहली नायक बने । उनले सर्वाधिक ९५ रनको योगदान दिए । उनी सचिन तेन्दुलकरको एकदिवसीयमा सर्वाधिक ४९ शतकको कीर्तिमानबाट मात्र ५ रनले चुके । उनले १०४ बलमा ८ चौक र २ छक्का हिर्काए । रविन्द्र जडेजाले नटआउट ३९ रन बनाउँदै टोलीलाई जितसम्म डोर्याए ।
न्युजिल्यान्डले प्रस्तुत गरेको २७४ रनको लक्ष्य पछ्याउने क्रममा कप्ता रोहित शर्मा र शुभमन गिलले टोलीलाई राम्रो सुरूवात दिलाए । लक्की फर्गुसनको बलमा बोल्ड हुनुअघि रोहितले ४० बलमा ४६ रन बनाए । उनले यसक्रममा ४ चौका र ४ छक्का हिर्काए । २६ रन बनाउँदा गिल पनि फर्गुसनकै शिकार बने ।
श्रेयास आयर तथा लोकेश राहुलले पनि क्रमशः ३३ र २७ रन बनाउँदै महत्वपूर्ण योगदान दिए । न्युजिल्यान्डका फर्गुसनले २ तथा ट्रेन्ट बोल्ट, म्याट हेनरी र मिचेल सान्टनरले एक–एक विकेट लिए ।
यसअघि मोहम्मद शामीले घातक बलिङ गर्दै ५ विकेट लिएपछि न्युजिल्यान्डले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २७३ रन बनाएको थियो । शामीले १० ओभरमा ५४ रन खर्चेर ५ विकेट लिए भने कुलदीप यादवले २ तथा जस्प्रित बुमराह र मोहम्मद सिराजले एक–एक विकेट लिए ।
न्युजिल्यान्डका लागि डेरल मिचेलले सर्वाधिक १३० रन बनाए भने रचिन रविन्द्रले ७५ रनको योगदान दिए । ग्लेन फिलिप्सले २३ रन बनाउँदा विल योङ १७ रनमा आउट भए । अन्य ब्याटरले खासै ठुलो योगदान दिन सकेनन् ।
प्रतियोगितामा लगातार पाँचौँ जित हासिल गर्दै भारत अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । उत हालसम्म अपराजित रहेको न्युजिल्यान्डले पहिलो हारको स्वाद चाख्न बाध्य बनेको छ ।