पेस्तोल र ३ राउन्ड गोलीसहित ३ जना पक्राउ

20

मोरङ, ४ कात्तिक । प्रहरीले मोरङकाे धनपालथान गाउँपालिका–२ पैठाबाट कटुवा पेस्तोल १ र गोली ३ राउन्डसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाहीको हरिपुर्वा नगरपालिका–७ बस्ने २७ वर्षीय रविन्द्र कुमार यादव, २० वर्षीय कमलेश कुमार यादव र महोत्तरी गौसला नगरपालिका–६ का २२ वर्षीय राम दयाल यादव रहेका छन् ।

प्रहरी चौकी अमाहीबरियाती र सशस्त्र प्रहरी बलको सीमा सुरक्षा गुल्म सोराभागबाट संयुक्त रूपमा खटिएको टोलीले पार्किङ गरिराखेको बिआर०६पिए १३६२ नम्बरको स्कारपियो गाडीलाई जाँच गर्ने क्रममा गाडीको ड्यास बोर्डभित्र लुकाइराखेको पेस्तोल र गोली पारेको हो ।

पेस्तोल फेला पारेपछि प्रहरीले चालकलाई तत्काल पक्राउ गरिएको थियो भने गाडीमा सवार कमलेश र राम दयाल फरार रहेका थिए । फरार रहेका कमलेश र राम दयाललाई आज धनपालथान गाउँपालिका–३ दशगजा क्षेत्रबाट इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरू उपर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...