यसरी भएको थियो गैरीगाउँमा ४ जनाको सामूहिक हत्या

25

काठमाडौँ, १ असोज । काठमाडौँ महानगरपालिका–३२ तीनकुनेस्थित गैरीगाउँमा रहेको दिव्य सःमिलमा भएको चार जनाको हत्या प्रकरणमा सामान्य निहुँमा भएको प्रहरीले निष्कर्ष निकालेको छ ।

प्रहरीद्वारा गठित छानबिन समितिका अनुसार एकै परिवारका तीनसहित ४ जना विभत्स हत्या प्रकरण रिसइबी र प्रतिशोधले भएको पाइएको हो । विगतमा मोटरसाइकले ठक्कर दिएको र त्यस विषयमा उत्पन्न विवादको रिसिइबी साँध्दा उक्त घटना भएको उक्त छानबिन समितिका संयोजक काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए ।

सिन्धुपाल्चोकको बाह्रबिसे घर भइ हाल काठमाडौँको काँडाघारी बस्ने २३ वर्षीय सञ्जय भण्डारी एक्लैले हत्या गरेको समितिको निष्कर्ष छ । उनले सुरूमा एक जना मोरङका विशाल राईको हत्या गरेका र उक्त घटना देखेपछि बाहिर जाने डरले अरूको पनि हत्या गरेको स्वीकार गरेका राठौरले बताए ।

विगतमा हाल हत्या गरिएका विशाल राईले चलाएको मोटरसाइकलले ठक्कर दिँदा विवाद हुन गइ राईले प्रतिवादी भण्डारीलाई कुटपिट गरेकामा सोही रिसइबी÷प्रतिशोधका कारण हत्या गरेको पाइएको पनि उनले बताए ।

उनको साथबाट घटनाको दिन बोकेको झोला र सोही झोलामा रहेको खुकुरी बरामद गरिएको छ । उनलाई पक्राउ गर्दा घटना घटाउँदा लगाएको कपडा नै लगाएको अवस्थामा फेला पारेको प्रहरीले जानकारी दिएको छ ।

काठमाडौँको तीनकुनेस्थित गैरीगाउँमा शुक्रबार ४ जनाको हत्या गर्ने अभियुक्त सिन्धुपाल्चोकका सञ्जय भण्डारीले हत्यामा प्रयोग गरेको खुकुरीलगायत सामग्रीहरू ।

 

यसरी भएको थियो घटना
भण्डारीले गत भदौ २९ गते नै विशाल राईलाई सिध्याइदिन्छु भन्दै आफू बस्ने गरेको दिदीको कोठाबाट उक्त खुकुरी झोलामा हाली पछाडिपट्टिको बन्द गेटबाट माथि चढेर सःमिलमा प्रवेश गरेका थिए । त्यसपछि राई बस्ने कोठामा गइ हेर्दा नदेखेपछि कोठाको सोफामा बसे । केही समयपछि विशाल राई आएर विवाद भइ कुटपिट गरेपछि भण्डारीले खुकुरीले हानेर हत्या गरेको बयान दिएका प्रहरीले जनाएको छ ।

उक्त घटना हुँदा सुभद्रा भुजेलले देखेपछि कराएको थाहा पाएर उनले घटना बाहिर ल्याउने डरले भण्डारीले सुभद्राको पनि हत्या गरेको र सोही समयमा पूर्णबहादुर भुजेल घटनास्थलमा पुगी फोन गर्न लागेको जस्तो देखेपछि उनलाई र त्यही बेलै आइपुगेकी उनकी श्रीमती अम्बिकाको पनि हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार जन्मजात बोल्न नसक्ने भण्डारी सिन्धुपाल्चोक बाह्रबिसेमा कक्षा ८ सम्म अध्ययन गरी १२ कक्षासम्म काठमाडौँमा अध्ययन गरेको खुल्न आएको छ । सो घटना अनुसन्धान सम्बन्धमा सांकेतिक भाषा विज्ञ झिकाइ थप सोधपुछ गरिएको सोही क्रममा निजले आफूले सम्पूर्ण घटना एक्लै घटाएको स्वीकार गरेको र थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

घटनापछि सोही घरमा रहेका दीपेन्द्र राईले देखेपछि उनी प्रहरीलाई खबर गर्न ट्याक्सी चढ्न लाग्दा प्रहरी घटनास्थल पुगेको थियो । रगत लतपतिएको देखेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । अनुसन्धानमा उनी निर्दोष देखिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

भदौ २९ गते राति ११ः५५ बजेको समयमा उक्त घटना भएको थियो । काठमाडौँ–३२ तीनकुनेस्थित गैरीगाउँस्थित दिव्य सःमिलमा कुमार भन्ने पूर्णबहादुर भुजेल, उनकी श्रीमती अम्बिका भुजेल, कुमारकी आमा सुभद्र भुजेल र मोरङ बेलबारी स्थायी घर भएका नवीन भन्ने विशाल राईको हत्या भएको थियो ।

उक्त हत्या प्रकरणको अनुसन्धानका लागि प्रहरीले राठौरकै नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान समिति गठन गरेको थियो । सोही समितिले घटनाको सफल अनुसन्धान गरेको हो ।

Share This:
सम्बन्धित खबर
Loading...