काठमाडौँ, ६ जेठ । करोडौँ ठगी गरेको आरोपमा नेपाली कांग्रेस नेता पक्राउ परेका छन् । विभिन्न व्यक्तिलाई प्रलोभन देखाइ ८ करोड २५ लाख ठगेको आरोपमा कांग्रेस महासमिति सदस्य कृष्णमुरारी गुरूङ पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँले केही दिनअघि गुरूङलाई ठगी मुद्दामा पक्राउ गरे पनि शुक्रबार मात्र घटना सार्वजनिक गरेको हो । पक्राउ गरेर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको परिसरकार प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सीताराम रिजालले जानकारी दिए ।
सिन्धुलीको गोलन्जर गाउँपालिका वडा नम्बर ४ स्थायी घर भएका गुरूङले आफ्नो व्यवहार एवम् व्यापार मिलाउन भन्दै विभिन्न व्यक्तिलाई ठगी गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो ।
मुद्दा परेकाले आफ्नो सम्पूर्ण सम्पत्ति रोक्का भएको भन्दै उनले पटक–पटक गरी सुरेश केसीसँग नगद ७ करोड ७५ लाख रूपैयाँ र २० तोला सुन लिएको प्रहरीको भनाइ छ । त्यस्तै, २०७४ सालको असोज महिनामा देउबहादुर गुरूङसँग ३० लाख रूपैयाँ लिएको पनि प्रहरीले जनाएको छ ।
त्यसैगरी गाडी बिक्री गर्न २० लाख चाहिने भन्दै सरिता गुरूङसँग २० लाख रूपैयाँ लिएको पनि पीडितले उजुरीमा उल्लेख गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनलाई ठगी, आपराधिक लाभ तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।
गुरूङ गत प्रतिनिधिसभा निर्वाचनमा सिन्धुली–१ बाट उम्मेदवारको दाबेदार भए पनि कांग्रेसले श्यामकुमार घिमिरेलाई टिकट दिएको थियो ।