मुगुमा नेत्रज्योती संघको निःशुल्क आँखा शिविर, १५४ जनाले पाए गुमेको ज्योती

33

काठमाडौँ, २४ चैत । नेपाल नेत्रज्योती संघको आयोजनामा हिमाली जिल्ला मुगुका दुई वटा स्थानीय तहमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

नेपाल नेत्रज्योति संघ आँखा उपचार केन्द्र मुगुको स्थानीय आयोजना, हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग र नेपाल नेत्रज्योति संघ एकीकृत आँखा कान स्वास्थ्य कार्यक्रम कर्णालीको आर्थिक सहयोग र आइकेयर फाउन्डेसनको सहयोगमा उक्त शिविर आयोजना गरिएको हो ।

सो अवसरमा १ हजार ११८ जना बिरामीहरुको आँखा परीक्षण गरिएको छ भने १५४ जनाको निःशुल्क शल्यक्रिया समेत भएको छ । उक्त शिविरमार्फत् हुम्ला जिल्लाका साथै छिमेकी जिल्ला जुम्ला र हुम्लाका नागरिकहरु समेत लाभान्वित भएका छन् ।

चैत्र १५ गतेदेखि १७ गतेसम्म मुगुको छायाँनाथ रारा नगरपालिका गमगढीमा सञ्चालित शिविरमा ६४७ जना बिरामीहरुको निःशुल्क आँखा जाँच गरिएको थियो । उक्त शिविरमा आँखा जाँच गराएका बिरामीहरुमध्येमा मोतिबिन्दु देखिएको ६५ जनाको निःशुल्क शल्यक्रिया समेत गरिएको नेपाल नेत्रज्योति संघका केन्द्रिय उपाध्यक्ष तिलक बहादुर मल्लले बताए ।

त्यस्तै, मुगुकै खत्याड गाँउपालिकामा चैत्र २० गतेदेखि २२ गतेसम्म सञ्चालन गरिएको शिविरमा ४७१ जनाको आँखा जाँच गरी मोतिबिन्दु देखिएका ८७ जना बिरामीको निःशुल्क शल्यक्रिया गरिएको थियो भने २ जनाको माइनर सर्जरी समेत गरिएको थियो ।

४८४ जना बिरामीहरुलाई निःशुल्क चस्मासमेत वितरण गरिएको मल्लले जानकारी दिए । पहुँच र आर्थिक अभावमा कोही पनि नागरिकहरु दृष्टिविहीन बस्न नपरोस् भन्ने हेतुले संघले दशैभरि निःशुल्क आँखा शिविर सञ्चालन गरिरहेको मल्लको भनाइ थियो ।

मोतिबिन्दु रोग नेपालमा रहेको दृष्टिविहीनताको सबैभन्दा प्रमुख कारण हो । जुनसुकै उमेरका मानिसमा पनि यो समस्या देखिन सक्छ तर, अधिकांशमा उमेर बढ्दै गएपछि मोतिबिन्दु हुने सम्भावना पनि बढ्दै गएको पाइन्छ ।

मोतिबिन्दु भइसकेपछिको सबैभन्दा प्रभावकारी उपचार शल्यक्रिया नै हो । यो रोग औषधिले ठकि हुँदैन । शल्यक्रिया गर्न नपर्ने अवस्थामा चश्माको प्रयोगबाट पनि धरै हदसम्म सफा हेर्न मद्धत गर्दछ तर पूर्ण सफा हेर्नका लागि शल्यक्रिया नै गर्नु पर्ने हुन्छ । आजभोलि प्रविधिमा आएको विकासले मोतिबिन्दुको शल्यक्रिया गरेको केही घण्टा मै बिरामी आफ्नो सामान्य दैनिकीमा फर्कन सक्छन् ।

नेपाल नेत्रज्योती संघले हाल देशभरमा २७ वटा आँखा अस्पताल तथा १५० भन्दा बढी आँखा उपचार केन्द्र सञ्चालन गरिरहेको छ । संघले देशभरका आँखा अस्पताल, आँखा उपचारका केन्द्र र विभिन्न आँखा शिविरमार्फत् हरेक जिल्लाका नागरिकहरुलाई आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...