गोरखा, १४ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीका रूपमा तेस्रो कार्यकाल आगामी पुस्ताले गर्व लायक बनाउने बताएका छन् । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा २६औँ दिलबहादुर रम्तेल स्मृति दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विकास निर्माणका ठुला परियोजना र सुशासनमार्फत् आफ्नो तेस्रो कार्यकाल आगामी पुस्ताले सम्झन लायक बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
“नेपालको अहिलेको अर्थतन्त्रलाई अझ बढी संकटतर्फ जान नदिने र सुधारतर्फ लैजाने साह्रै ठुलो दायित्व वर्तमान सरकारको काँधमा छ,” उनले भने, “सुशासन स्थापना गर्ने चुनौती पनि हाम्रो अगाडि छ मैले त्यसको थालनी गरिसकेको छु ।” प्रधानमन्त्री प्रचण्डले सुशासन र समृद्धिका लागि प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै संसद्मा आफूले प्रतिबद्धता पूरा गरेरै छोड्ने बताए ।
उनले आफ्नो नेतृत्वमा सरकार गठन भएको दुई महिना बित्दा नबित्दै अर्थतन्त्रमा सकारात्मक सुधारको संकेत देखा परिसकेको भन्दै यो नेपाल र नेपाली जनताका लागि खुसीको कुरा भएको बताए । देशमा सुशासन स्थापना गर्न उच्चस्तरीय प्रशासनिक सुधार आयोग गठन गर्ने र अनावश्यक संरचना, जनशक्तिलाई हटाएर मितव्ययी बनाउने जस्ता गुणात्मक सुधारको थालनी सरकारले गरिसकेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।
प्रधानमन्त्री प्रचण्डले अबको बाँकी जीवन सुशासन तथा समृद्धिका निम्ति र देशको विकासका निम्ति खर्च गर्ने प्रतिबद्धता दोहोर्याउँदै त्यसका लागि सबै नेपाली जनताको साथ चाहिएको उल्लेख गरे । फरक प्रसंगमा प्रधानमन्त्री प्रचण्डले यही फागुन २५ गते हुन लागेको राष्ट्रपतिको निर्वाचन सर्वसम्मत गराएर राष्ट्रिय सहमतिको वातावरण कायम गर्न आफू लागि परेको बताए । “अहिले पनि नेकपा (एमाले)सँग लगातार कुरा भइरहेको छ,” प्रधानमन्त्री प्रचण्डले भने,“२५ गतेसम्म जाँदा राष्ट्रपतिमा सर्वसम्मत भयो भने धेरै राम्रो हुन्छ, त्यो कोसिस पनि हामी गरिरहेका छौँ ।”
उनले त्यसो हुन नसके पनि नयाँ राजनीतिक यात्रा स्थायित्व र विकासका निम्ति अझ सहयोगी हुने विश्वास व्यक्त गरे । प्रधानमन्त्री प्रचण्डले निर्वाचनमा मत माग्ने क्रममा गोरखाका कच्ची सडकलाई स्तरोन्नति गर्ने, कालोपत्र गर्ने प्रतिबद्धता व्यक्त गरेअनुसार त्यसलाई कार्यान्वयन प्रक्रियामा लैजाने बताए । उनले प्रधानमन्त्रीमा निर्वाचित भएपछि गोरखाका जनतालाई पहिलो पटक भेट्न पाएकोमा खुसी व्यक्त गरे ।