८ दलको सहमति राष्ट्रिय सहमतिकै प्रारूप हो : प्रधानमन्त्री प्रचण्ड

82

काठमाडौँ, १३ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार संसद्‌मा प्रतिनिधित्व गर्ने ८ दलबीच भएको सहमति राष्ट्रिय सहमतिकै प्रारूप भएको बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा महेन्द्रनारायण निधिको १०१औँ जन्मजयन्तीका अवसरमा आज आयोजित ‘समसामयिक नेपाली राजनीति र निधिको विचार’ विषयक विचारगोष्ठीमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।

विचारगोष्ठीलाई सम्बोधन गर्दै उनले भने, “हिजो संसद्का आठ दलबीच जुन सहमति भएको छ, ऐतिहासिक छ, त्यो राष्ट्रिय सहमतिकै प्रारूप हो । संसद्को सबैभन्दा ठुलो दलबाट राष्ट्रपति निर्वाचित हुन्छ, दोस्रो ठुलो दलको सभामुख र राष्ट्रियसभाको अध्यक्ष छ । तेस्रो दलको प्रधानमन्त्री छ ।” उनले संसद्का अरू दलहरूबीच पनि समझदारीका अगाडि बढेको बताए ।

नयाँ सरकार गठनपछि केही सूचक सकारात्मक देखिए पनि अर्थतन्त्र संकटमुक्त नभएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले लामो त्याग र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानमाथिको खतरा कायमै रहेको बताए ।

राष्ट्रिय सहमतिकै लागि आफूले कोसिस गरे पनि सम्भव नभएको उनको भनाइ थियो । संविधान, लोकतान्त्रिक मूल्य र मान्यता नस्वीकार्ने शक्तिहरूसँगको सहकार्य सहज नहुने भन्दै उनले भने, “यही निष्कर्षका साथ फेरि हामी एक ठाउँमा उभिएका छौ, हामी प्राकृतिक कोर्षमा फर्किएका छौ, यो नै मुख्य कुरा हो ।”

Share This:
सम्बन्धित खबर
Loading...